हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा



काठमाडौं । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ ।

एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली सुरु हुने स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु हुने बताए । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए ।

उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरु केके छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने उनले बताए । १३ गते बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने कार्कीले बताए ।

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए ।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए ।

अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए । उनले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए । देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको बताए । उनले नेपालमा लगानी गर्न इच्छुक हुनेहरुका लागि सबैभन्दा राम्रो ठाउँ उर्जा क्षेत्र भएको दाबी गरे ।


क्लिकमान्डु