पहिलाको जस्तो हतारमा हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौं: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे ।

यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको उनले बताए । अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको शुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको उनले बताए ।

जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने उनले बताए । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमान्दार भएर लाग्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।

‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिउँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ’ उनले भने ।


क्लिकमान्डु