प्रचण्डसमक्ष माधव नेपालले भने: यो गठबन्धन कति दिन चल्छ भन्न सक्दिँन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

सोमबार च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जटिल रहेको बताए । छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे ।

अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको अध्यक्ष नेपालको भनाइ थियो ।

‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन,’ उनले भने,’अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौं।’

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको उनले बताए । वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौं । कसैको दास बन्ने हाम्रो नियत होइन’ उनले भने ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।


क्लिकमान्डु