९ महिनामा ७ हजार ९३ विद्युतीय गाडी आयात



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ हजार ९३ विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँको ७ हजार ९३ वटा विद्युतीय आयात भएको हो ।

चैतसम्ममा आयात भएको विद्युतीय गाडीको हालसम्मकै उच्च हो । यसअघि नेपालले एक आर्थिक वर्षमा पनि उक्त संख्यामा विद्युतीय गाडी आयात गरेको थिएन । तर सरकारले बजेटमार्फत् विद्युतीय सवारी साधन प्रयोग बढाउन छुटको व्यवस्था गरेसँगै विद्युतीय गाडीको प्रयोगकर्ता बढ्दै गएका छन् ।

चालु आवमा नेपालले १७ अर्बको विद्युतीय गाडी आयात गर्दा सरकारले ७ अर्ब ७८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै नेपालले चैतमा मात्रै ६५८ वटा विद्युतीय गाडी आयात गरेको छ ।

नेपालले ९ महिनाको अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडी आयात भएको विभागको तथ्याङ्क छ । ९ महिनामा ११ अर्ब ४६ करोड ९९ लाख रुपैयाँको ४ हजार ७७ वटा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको आयात भएको हो ।

त्यसैगरी नेपालले ५० किलोवाटसम्मको ५ अर्ब ४० करोड २९ लाख रुपैयाँको २ हजार ९०२ वटा विद्युतीय गाडी आयात गरेको छ । साथै १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ९३ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मकोक २१ वटा विद्युतीय गाडी आयात गरेको छ ।

नेपालले साउनमा ११० वटा, भदौमा ७८८ वटा, असोजमा १२ सय ३७ वटा, कार्तिकमा ६५२ वटा, मंसिरमा ८९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा १ हजार ५२ वटा र फागुनमा २७६ वटा विद्युतीय गाडी आयात गरेको छ ।


क्लिकमान्डु