उद्योग ब्यवसायी महासंघको अध्यक्षमा सापकोटा
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् ।
पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए । अध्यक्षमा सापकोटाका साथै महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् ।
शिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन् भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।
एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरु महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरु सदस्य रहेका छन् । सदस्यताको हिसाबले यो नै सबैभन्दा ठुलो संजाल रहेको व्यवसायीहरुको महासंघ हो ।
यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।