आईपीओ ल्याउने तयारी गरेको पाल्पा सिमेन्टले ६ महिनामा गर्यो पौने २ अर्बको व्यापार



काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको आरएमसी ग्रुप अन्तर्गतको पाल्पा सिमेन्ट उद्योगले सन् २०२४ को ६ महिनाको अवधिमा १ अर्ब ८० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २००९ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत गरी आईपीओ ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

उत्पादन र निर्माण क्षेत्रमा स्थापित कम्पनीले ग्रान्डिङ र क्लिङ्कर सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले ४३ ग्रेडको पीपीसी र ५३ ग्रेडको पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उक्त सिमेन्ट तानसेन ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दैनिक १८ सय मेट्रिक टन क्लिङ्कर र २२ सय मेट्रिक टन ग्राण्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०११ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो ।

कम्पनीका अनुसार सन् २०२४ को ६ महिनाको अवधिमा २९ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२३ मा २२ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले दैनिक १८ सय मेट्रिक टन क्लिकर उत्पादन गर्ने गरी उद्योग विस्तार गरी सन् २०१८ देखि नै सञ्चालनमा ल्याईसकेको छ । त्यसैगरी कम्पनीले क्लिङ्कर उत्पादनका लागि नयाँ खानीको पनि लाइसेन्स पाइसकेको छ ।

कम्पनीले पाल्पा जिल्लाको राहावास गाउँपालिकामा ५ हेक्टर क्षेत्रफल क्लिङ्कर उत्खननका लागि अनुमति पाएको कम्पनीले जनाएको छ । साथै कम्पनीले सोही क्षेत्रमा १० हजार मेट्रिक टन क्लिङ्कर उत्खननका लागि ४४ हेक्टर जग्गा लिने तयारी गरिरहेको छ ।

अहिले उक्त उत्खनन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको प्रक्रिया अगाडि बढेको उल्लेख छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२३ मा १२ प्रतिशतले बढेको थियो । तर सन् २०२४ मा २०२३ को तुलनामा घटेको छ ।

कम्पनीअनुसार सन् २०२३ मा सिमेन्ट र क्लिङ्करबाट ४८ प्रतिशत व्यापार गरेको थियो । त्यस्तै सन् २०२४ को ६ महिनाको अवधिमा २२ प्रतिशत व्यापार निर्यातबाट भएको उल्लेख छ । सरकारले निर्यातमा प्रोत्साहन गर्ने उद्देश्यसहित नगद अनुदानको व्यावस्था गरेको छ । जसले गर्दा निर्यात बढ्दै गएको पाइन्छ ।


क्लिकमान्डु