केडिया ग्रुपको खाद्यान्न बेच्ने दुई कम्पनीले गरे ४ अर्बको व्यापार



काठमाडौं । केडिया ग्रुपद्वारा सञ्चालित खाद्यान्न बेच्ने दुई कम्पनीले ४ अर्बको व्यापार गरेका छन् । ग्रुपको महावीर होल्डिङ प्रालिको महावीर आधुनिक दाल उद्योग र महावीर एग्रो प्रोडक्ट प्रालिले सन् २०२३ मा ३ अर्ब ९५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हुन् ।

महावीर एग्रो प्रोडक्टले सन् २०२३ मा २ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ भने महावीर आधुनिक दाल उद्योगले १ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

सन् २०२१ मा स्थापना भएको महावीर एग्रोले धान प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारतबाट धान आयात गरेर प्रशोधन गर्दै राजन्स, नेपाली चुलो र गुड लक ब्राण्डमा चामल बेच्दै आएको छ ।

वार्षिक ८४ हजार मेट्रिक टन प्रशोधन गर्ने क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा चार जनाको स्वामित्व छ । जसमा मुक्तिकुमार अग्रवालको ४५ प्रतिशत, रतनलाल केडियाको ३७ प्रतिशत, सन्जयकुमार अग्रवालको ११ प्रतिशत र दिप्ती अग्रवालको ८ प्रतिशत स्वामित्व छ ।

त्यसैगरी महावीर आधुनिक उद्योगले सन् २०२३ मा १ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब २१ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब १३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले विभिन्न प्रकारका दाल प्रशोधन गरी यसोदा र उत्तम ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । सम्पूर्ण स्वामित्व रतनलाल केडिया रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु