भैरहवामा इन्धन भण्डारगृह निर्माण प्रकिया सुरु



भैरहवा । नेपाल आयल निगमले भैरहवाको रोहिणी खोला किनारमा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रकिया सुरु गरेको छ।

निगमले ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका बीचमा रहेको १३ बिगाहा जग्गामा उक्त भण्डारण गृह निर्माण गर्न लागेको हो ।

पेट्रोलियम भण्डारण गृह निर्माण परियोजना प्रमुख प्रदीप यादवका अनुसार भण्डारण गृह निर्माण गर्न टेण्डर समेत आह्वान भइसकेको छ । भण्डारणगृह निर्माण गर्न कुल २० बिगाहा जग्गा चाहिन्छ । यसमध्ये अहिले १३ बिगाहा जग्गा खरिद भइसकेको छ । बाँकी ७ बिगाहा जग्गा थप खरिद हुनेछ ।

निगमले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त जग्गामा भूमि सम्याउने र रेटेनिङ वाल निर्माण गर्ने प्रकिया सुरु गर्न लागेको जनाएको छ ।

रोहिणी खोलाको किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर २ मिटर माथि उठाउने ( फिलिङ ) काम सुरु हुन लागेको छ । यस्तै फिलिङ भई सकेपछि चारैतर्फ २ मिटर उचाई भएको कम्पाउन्ड वाल निर्माण गर्न लागिएको छ ।

खोला निगमको जग्गाको पश्चिममा भएकाले खोलाको पानी आउन नदिन उक्त दिशामा तारजाली हालेर २ मिटर रेटिनिङ वाल निर्माण गर्न लागिएको निगमले जनाएको छ । निर्माण हुने यो भण्डार गृहको कुल क्षमता ६६०० किलोलिटर हुनेछ। भण्डारण गृह निर्माण गर्न ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

भण्डार गृहको डिजाइन र ड्रइङ काठमाडौं युनिभर्सिटीले बनाइरहेको परियोजना प्रमुख तथा हवाई इन्धन सिनामंगल डिपोको प्रमुख यादवले जानकारी दिए । यो परियोजना निर्माण सुरु भएको २ वर्षमा सम्पन्न गर्ने समयसीमा तोकिएको छ।


क्लिकमान्डु