‘भाइले विदेशबाट पठाएको पैसा सहकारीमा राखें, पैसा फिर्ता नपाएपछि परिवारमा समस्या’



काठमाडौं । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन्। सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका हुन् ।

उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह सुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाइले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताइन् । भाइले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको उनको भनाइ छ । आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

‘विदेशबाट भाईले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ । अहिले भाईले पैसा मागेको छ । तर मसँग दिने पैसा छैन, भाई मसँग रिसाएको छ । बोलचाल छैन । सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन । पुलिसले पनि सुनेन । हामी अरुको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ । सरकारले गरिव जनताको आवाज सुनेन । हामी गरिव दुःखीको सुनुवाई कहिले हुन्छ ?’ उनीहरुको भनाइ छ ।

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिव जनताको दुःख नसुनेको आरोप लगाए । गरिव दुःखीको सुनुवाई कहिले हुन्छ ? भन्ने उनीहरुको प्रश्न थियो ।


क्लिकमान्डु