मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते



मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए ।

आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको थियो ।


क्लिकमान्डु