सुनको मूल्यले रेकर्डै-रेकर्ड बनाएको वर्ष बन्यो २०८०, तोलामै २९ हजार बढ्यो



काठमाडौं । साल २०८० सुनको मूल्यमा रेकर्डको वर्ष बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदा आन्तरिक बजारमा पनि सुनले हरेक दिनजसो रेकर्ड काय गर्‍यो ।

विगतका वर्षहरुमा सुनको मूल्य एक वर्षमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म बढेको पाइन्छ । तर २०८० सालको वैशाखयता वर्षको अन्तिम दिनसम्म सुनको मूल्य २९ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार छापावाला सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँसम्म बढेको पाइन्छ । तर, २०८० सालमा प्रतितोला नै विगतको तुलनामा तेब्बरले बढेको देखिन्छ।

वैशाखको सुरुवातमा १ लाख १० हजार रुपैयाँ कायम भएको सुनको मूल्य चैतको अन्तिम दिन आइपुग्दा प्रतितोला २९ हजार रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

२०८० को पहिलो महिना वैशाखको सुरुवातमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघअनुसार वैशाखमा सुनको मूल्य घटबढ भई प्रतितोला अधिकतम मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

जेठमा सुनको मूल्य बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । सो महिना सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँदेखि १ लाख १३ हजार ३ सय रुपैयाँसम्म कारोबार भएको महासंघको तथ्यांक छ । असारमा सुनको मूल्य घटबढ भइ प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँदेखि १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

साउनमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँदेखि १ लाख १३ हजार ६ सय रुपैयाँ कामय भएको थियो । भदौमा पनि सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँदेखि १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको महसंघको तथ्यांक छ । असोजमा भने सुनको मूल्यमा केही गिरावट आयो । उक्त महिना सुनको मूल्य १ लाख २ लाख ६ हजार ९ सय रुपैयाँदेखि १ लाख १३ हजार रुपैयाँ कायम भएको थियो ।

कार्तिकमा भने सुनको मूल्य बढेर नयाँ-नयाँ रेकर्ड बनाएको देखिन्छ । कार्तिकमा १ लाख १३ हजार रुपैयाँबाट बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ, १ लाख १६ हजार र १ लाख १७ हजार रुपैयाँसम्म बढेर नयाँ रेकर्ड कायम भएको थियो । महासंघको तथ्यांकमा उक्त महिनामा १ लाख १३ हजार २ सय रुपैयाँदेखि १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो ।

मंसिरमा पनि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको थियो । सो महिना सुनको मूल्य बढेर १ लाख २१ हजार ६ सय रुपैयाँसम्म कायम भएको थियो । त्यस्तै पुसमा पुन: सुनको मूल्य बढेर १ लाख २२ हजार रुपैयाँसम्म कायम भएको पाइन्छ ।

माघमा भने सुनको मूल्य घटबढ भई १ लाख १७ हजार ५ सय रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । फागुनमा सुनको मूल्यले नयाँ-नयाँ इतिहास कायम भएको थियो । फागुनमा ‍तेस्रो हप्तादेखि लगातार सुनको मूल्य बढेको थियो। फागुनमा सुनको मूल्य प्रतितोला लाख २३ हजार ५ सय रुपैयाँ, १ लाख २५ हजार रुपैयाँ र १ लाख २६ हजार रुपैयाँसम्म कायम भएको थियो ।

त्यसैगरी चैत महिनामा लगातार नयाँ रेकर्ड बनाउँदै फागुनको तुलनामा प्रतितोला नै १३ हजार रुपैयाँले बढेको पाइन्छ । अन्य महिनाको तथ्यांकको तुलनामा चैत महिनामा सुनको मूल्यले सबैभन्दा बढी रेकर्ड बनाएको छ । चैत महिनामा प्रत्यक दिन नयाँ-नयाँ रेकर्ड बनाएको छ । जसले गर्दा सुनको कारोबारमा उच्च प्रभाव परेको छ ।

चैतमा एकपछि अर्को रेकर्ड बनाउँदा महिनाको अन्तिम दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला नै २४ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । २०८० को सुरुवाती महिनामा चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँदेखि १४ सय ५० रुपैयाँ कायम भएको थियो । चैत अन्यसम्म आइपुग्दा चाँदीको मूल्य प्रतितोला ३ सय ७५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।


क्लिकमान्डु