यी हुन् ८ महिनामा अर्बमाथि निर्यात भएका २१ वस्तु



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले साउनदेखि पुससम्ममा ११ खर्बको वैदेशिक व्यापार गर्दा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागकाअनुसार नेपालले ८ महिनाको अवधिमा १ खर्ब ६२ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात गरेको छ । नेपालबाट विभिन्न मुलुकमा निर्यात गर्नका लागि उच्च सम्भावना भए पनि उत्पादन कमजोर हुँदा अपेक्षाअनुसार निर्यात हुन सकेको छैन ।

आयातको ग्राफ बढ्दो क्रममा छ भने निर्यात घट्दो क्रममा छ । जसले गर्दा नेपालले हरेक वर्ष खर्बौं रुपैयाँको व्यापारघाटा व्यहोर्दै आएको छ ।

नेपाललु चालु आवको ८ महिनामा मात्रै ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले ९ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो ।

नेपालले ८ महिनामा १ खर्ब रुपैयाँको निर्यात गर्दा सीमित वस्तु मात्रै अर्बमाथि निर्यात भएको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्क छ । जसमा सो अवधिमा २१ वटा वस्तु मात्रै एक अर्बमाथिको निर्यात भएको पाइन्छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, धागो, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना शल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रुपमा रहेका छन्
तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा सबैभन्दा बढी फलाम तथा फलामका उत्पादनहरु निर्यात भएको छ । उक्त वस्तु ८ महिनाको अवधिमा ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँको निर्यात भएको छ ।

यी हुन् अर्बमाथि निर्यात भएको २१ वस्तु

फलाम तथा फलामका उत्पादनहरु: ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ
धागो: ७ अर्ब ५१ करोड २५ लाख रुपैयाँ
ऊनी गलैंचा: ६ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ
तयारी पोशाक: ६ अर्ब १८ करोड १६ लाख रुपैयाँ
जुस: ५ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ
अलैंची: ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँ
जुट तथा जुटका सामानहरु: ४ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ
प्लाइउड: ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ
पामतेल: ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ
उनी फेल्टका उत्पादन: ३ अर्ब ८ करोड ४४ लाख रुपैयाँ
चिया: २ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ
पश्मिना शल: २ अर्ब २ करोड २८ लाख रुपैयाँ
कुकुर विरालाका आहारा: १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ
पिना: १ अर्ब ९० करोड ९ लाख रुपैयाँ
जडीबुटी: १ अर्ब ६१ करोड ५ लाख रुपैयाँ
कपडा: १ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ
चाउचाउ: १ अर्ब ३३ करोड ९ लाख रुपैयाँ
सिमेन्ट: १ अर्ब २८ करोड ३० लाख रुपैयाँ
क्लिंकर: १ अर्ब १८ करोड ८७ लाख रुपैयाँ
अदुवा: १ अर्ब ३ करोड २२ लाख रुपैयाँ
अम्रिसो (कुच्चो): १ अर्ब ३ करोड ६ लाख


क्लिकमान्डु