हिमाल आरोहणबाट ३४ करोड रोयल्टी संकलन, ४० देशका २०९ आरोही सगरमाथा चढ्न इच्छुक



काठमाडौं । हिमाल आरोहणमा जाने आरोहीले लिएको अनुमतिबाट सरकारले ३४ करोड ४३ लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार सार्वजनिक गरेको १ मार्चदेखि १० अप्रिलसम्मको तथ्यांक अनुसार कुल ५१२ आरोहीले विभिन्न १९ वटा हिमालको आरोहण अनुमति लिएका छन । अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथाको लागि छ ।

सगरमाथाको लागि हालसम्म १८ वटा समूहका २०९ जना आरोहीले अनुमति लिएका छन । उनीहरुले लिएको अनुमतिबाट सरकारलाई २९ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सगरमाथा जान समूहले ११ हजार डलर र व्यक्तिगत रुपमा १० हजार डलर रोयल्टी शुल्क लाग्छ । यो सगरमाथा आरोहणमा जान अरु हिमालमा भन्दा बढी आकर्षण हुने र शाखः समेत बढ्ने भएकोले पनि बढी चाप हुने गरेको छ ।

सगरमाथा आरोहणका लागि हालसम्म विभिन्न ४० देशका २०९ आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार हालसम्म सगरमाथा आरोहको अनुमति लिनेमा ३९ महिला र १७० पुरुष छन् ।

सगरमाथा आरोहण गर्न चाहनेमा सबैभन्दा बढी अमेरिकी नागरीकको चासो छ । अमेरिकाबाट ४४ जनाले सगरमाथा आरोहण जान अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यसपछि देशअनुसार बढी चासो हुनेमा चीनबाट २२ जना, जापानबाट १८ जना र रसियाबाट १६ जना छन । अरु देशबाट भने १ देखि १३ जनासम्मले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथापछि बढी आकर्षको हिमाल आमादब्लम हो । यो हिमाल आरोहण गर्न हालसम्म ६ टिमबाट ६६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।


क्लिकमान्डु