चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट विद्युत खपत गर्दा २ करोडको डिजेल विस्थापन  



काठमाडौं । चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट बिजुली खपत गरिरहेको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिब दुई करोड रुपैयाँको डिजेल र पेट्रोल प्रतिष्थापन गर्ने गरेको बताए ।

उनले यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिस्थापन गर्नसक्ने दाबी गरे । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताए । घिसिङले देशभरका नगरपालिका, स्थानीय निकाय, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए ।

उनले काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको बताए। घिसिङका अनुसार नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी छ । उनले अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिब हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गरे।

उनका अनुसार करिब ७० प्रतिशत मात्रै विद्युतीय सवारीसाधन रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताए ।

‘अहिले देशभरका नगरपालिका,स्थानीय निकाय,अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्नुपर्‍यो भनेर आइरहेको अवस्था छ । यो महत्वपूर्ण छ । हाम्रो ट्रान्सपोटेसनलाई इलेक्टिफाइ गर्नको लागि चार्जिङ इन्फाइन्टक्चर एकदमै जरुरी छ , ‘ उनले भने, ‘अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको छ । ‘


क्लिकमान्डु