सहकारीमा ठगी: बचत फिर्ता गर्न नसक्दा दुई छोरा र छोरीसहित जेल परे बुबा



काठमाडौं । सहकारी संस्था खोल्ने, वर्षौंसम्म आफैं सञ्चालक बन्ने, सहकारीको अध्यक्ष, प्रबन्धकदेखि लेखा समितिमा समेत आफन्त राख्दा संस्थाहरुमा समस्यामा परेका छन् । अहिले अधिकांश सहकारीमा समस्या आउनुको मुख्य कारण मध्येको यो पनि एक भएको सहकारी अभियान्ताहरुको भनाइ छ ।

यसको ज्वलन्त उदाहरण काठमाडौं महानगरपालिका–२२ प्युखामा रहेको हरिसिद्दि को-अपरेटिभ हो । यो सहकारीको अध्यक्षमा काभ्रेपलाञ्चोकको धुलिखेल घर भइ हाल काठमाडौंको बाङ्गेमुढा बस्ने शिवचन्द्र श्रेष्ठ माकजु छन् । उनी उक्त सहकारीमा २५ वर्षदेखि अध्यक्ष छन् ।

सहकारीको प्रबन्धकमा अनिल कुमार श्रेष्ठ छन् भने लेखा समितिका संयोजक सुनिल कुमार श्रेष्ठ छन् । अनिल अध्यक्ष शिवचन्द्रका जेठो छोरा हुन् भने सुनिल माइलो छोरा हुन् । शिव अध्यक्ष भए पनि कारोबार भने जेठो छोरा अनिल कुमार श्रेष्ठले हेर्दै आएका थिए ।

उक्त सहकारीले अहिले ३७ जना बचतकर्ताको १३ करोड २८ लाख १७ हजार ५५० रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा परेको छ । पारिवारिक रुपमा चलिरहेको उक्त सहकारीका सञ्चालकले बचतकर्ताको बचत अपचलन गरेका छन् । ११ जना सञ्चालकमा अझै ५ जना फरार रहेको बताइएको छ । पक्राउ परेकामध्ये संस्थाका अध्यक्ष, प्रबन्धक र लेखा समिति संयोजक अर्थात बुबा र दुई छोरा रहेका छन् ।

सहकारीमा प्रबन्धक रहेका संस्थाका अध्यक्ष शिवचन्द्र श्रेष्ठ माकजुका छोरा अनिल कुमार श्रेष्ठ पक्राउ गरेका छन् ।

अध्यक्षका अर्का छोरा तथा प्रबन्धकका भाइ सुनिल कुमार श्रेष्ठ पक्राउ परेका छन् । सुनिल सहकारीका लेखा समितिका संयोजक हुन् । यस्तै अध्यक्ष श्रेष्ठकी छोरी शान्ति श्रेष्ठ पनि पक्राउ परेकी छिन् । शान्ति सहकारीको लेखा समिति सदस्य हुन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २८ मैतिदेबि बस्ने दिपेन्द्र श्रेष्ठ रहेका छन् । उनी सहकारीका लेखा समितिका सदस्य हुन् ।

सहकारीले बचत फिर्ता नगरेपछी प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका उपाध्यक्ष पूर्णप्रसाद अधिकारी, सचिव महेश कुमार बैदार, सञ्चालक सुस्मा श्रेष्ठ, सञ्चालक श्याम बहादुर श्रेष्ठ, सञ्चालक ओम प्रसाद श्रेष्ठ रहेका छन् ।

सहकारीको उपाध्यक्षमा झापा भद्रपुरका पूर्णप्रसाद अधिकारी रहेका छन् । उनी हाल फरारको सूचीमा रहेका छन् ।

सहकारीको कोषाध्यक्षमा काठमाडौं महानगरपालिका–१९ का निमा बज्राचार्य श्रेष्ठ रहेका छिन् । उनी पक्राउ परिसकेकी छिन् ।
संस्थाको सचिवमा काभ्रेपाल्चोक बनेपाका महेश कुमार बैदार रहेका छन् । उनी हाल फरार रहेका छन् ।

सहकारीको सञ्चालक रहेकी सुनसरी जिल्ला धरान उपमहानगरपालिका–३ की सुस्मा श्रेष्ठ हाल फरार रहेकी छिन् । फरार हुनेमा सहकारीका अर्का सञ्चालक श्याम बहादुर श्रेष्ठ रहेका छन् । उनी मोरङ जिल्ला धरान उपमहानगरपालिका त्रिभुवनपथका हुन् ।

यस्तै सहकारीका सञ्चालक समेत रहेका धुलिखेल नगरपालिकाका ओम प्रसाद श्रेष्ठ पनि फरार रहेका छन् ।


क्लिकमान्डु