यी हुन् ४ अर्ब बढी ऋण लिने ५० कम्पनी, ४ खर्ब रुपैयाँ कर्जाको रेटिङ



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ५० वटा कम्पनीले बैंकबाट ४ खर्ब रुपैयाँ ऋणको रेटिङ गराएका छन् ।
कम्पनीहरुले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ खर्ब ३४ लाख ६८ हजार रुपैयाँको रेटिङ गराएका हुन् ।

सरकारले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनेहरुका लागि अनिवार्य रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार कम्पनीहरुले रेटिङ गराएर ४ अर्बदेखि ३५ अर्ब रुपैयाँको रेटिङ गराएका छन् ।

विभिन्न रेटिङ एजेन्सीमार्फत गरिएको रेटिङका अनुसार सबैभन्दा बढी ऋण लिनेमा जगदम्बा स्टिल रहेको छ । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिल कम्पनी नेपालको सबैभन्दा ठूलो स्टिल कम्पनी हो । कम्पनीले एक आर्थिक वर्षमै ५० अर्ब रुपैयाँ बराबरको व्यापार गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा मात्रै ४० अर्ब १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन स्टिल उत्पादन गर्दै आएको छ । देशभर एक हजार बढी वितरक रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ अर्ब ५८ करोड २ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले जगदम्बा ब्रान्डमा विभिन्न प्रकारका स्टिलजन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीका अध्यक्ष शाहिल अग्रवाल हुन् ।

दोस्रो सबैभन्दा बढी ऋण लिनेमा एनसेल एक्जियटा रहेको छ । टेलिकम सेवा दिँदै आएको एनसेललले अल्पकालीन तथा दीर्घकालीज कर्जाका लागि २७ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २००१ देखि नेपालमा टेलिकम सेवा दिँदै आएको कम्पनीमा विदेशी कम्पनी रेनल्ड होल्डिङ लिमिटेड अफ वेस्ट इन्डिजको लगानी थियो । उक्त कम्पनीको एनसेलमा ८० प्रतिशत हिस्सा थियो । बाँकी २० प्रतिशत भने सुनिभिरा क्यापिटल भेन्चर प्रालिको थियो । अहिले विदेशी कम्पनी रेनल्डले आफ्नो सबै स्वामित्व सुनिभिरालाई बिक्री गरेर बाहिरिएका छन् ।

कम्पनी सन् २०२० मा पब्लिक कम्पनीमा परिणत गरेको छ । कम्पनीले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

जगदम्बा इन्टरप्राइजेज प्रालिले १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । वार्षिक ९ लाख २० हजार ६ सय मेट्रिक टन स्टिलजन्य सामग्री उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १३ र्अ ९२ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गर्दै लगानी थप गरेको छ । कम्पनीले २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी थप गरी स्टिल मेल्टिङ सप र हट स्ट्रिप मिल उद्योगमा सञ्चालनमा ल्याएको छ । कम्पनीमा अनिकुमार रुङ्गाटाको स्वामित्व रहेको कम्पनीले जगदम्बा र जाग शक्ति ब्रान्डमा स्टिलजन्य सामग्री बिक्री वितरण गर्दै आएको छ ।

शौर्य सिमेन्टले १५ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ११ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७० करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ ।

शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको स्वामित्व रहेको कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले सन् २०२२ मा ७ अर्ब ४३ करोड रुपैयाँको रेटिङ गराएको हो । सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेका छन् । कम्पनीले क्लिङ्करसँगै ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालको सबैभन्दा ठूलो सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोर भाटभटेनीले १२ अर्ब ८७ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । मिनबहादुर गुरुङ अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब २५ करोड ८१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६१ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सन् १९९२ देखि एउटै छतमुनी सम्पूर्ण सामग्री उपलब्धताको सुविधा दिँदै आएको छ । देशभर हाल २४ वटा र सन् २०२४ को अन्त्यसम्ममा २७ वटा शाखाबाट भाट–भटेनीको सुविधा दिने तयारी रहेको कम्पनीले सन् २०२३ मा मात्रै २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीमा मिनबहादुर गुरुङ र उनका पत्नी सावित्री घलेको स्वामित्व छ ।

सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिले सिमेन्ट उद्योग निर्माण गर्नका लागि १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ अर्ब ५४ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब गरी १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको हो । चौधरी ग्रुपद्वारा सञ्चालिन सीजी पाल्पा कम्पनीले दैनिक २९ सय ५० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै आएको छ भने २८ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले १४ अर्ब ७३ करोड रुपैयाँ लगानीमा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने उद्योग निर्माण गरिरहेको छ । कम्पनीले सन् २०२२ को जुलाईबाट सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, उद्योगको हालसम्ममा निर्माण कार्य सम्पन्न हुन नसक्दा सञ्चालनमा आउन सकेको छैन ।

चौधरी ग्रुपद्वारा सञ्चालित सम्राट सिमेन्टले दीर्घकालीन कर्जाका लागि १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड ९ लाख रुपैयाँ गरी १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले उद्योगमा क्षमता विस्तार गर्न लगानी थप गरेको छ । कम्पनीले दैनिक १८ सय मेट्रिक ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता भएको उद्योगलाई विस्तार गरी दैनिक ३६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । साथै, कम्पनीले दैनिक ४ हजार क्लिङ्कर उत्पादन गर्ने उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले उत्पादन सिमेन्ट विभिन्न ७ वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालमा विभिन्न प्रकारका जस्तापाता उत्पादन गरी बिक्री वितरण गर्दै आएको आरती स्ट्रिप्स प्रालिले ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९ अर्ब २८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

भारतीय कम्पनीको लगानी रहेको कम्पनीले विगत १७ वर्षदेखि जस्तापाता उत्पादन गर्दै आएको छ । साथै, विगत ७ वर्षदेखि पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा १४ अर्ब २७ करोड ३० लाख रुपैयाँको व्यापार गर्दै आएको छ । कम्पनीले उत्पादन गरेका वस्तु भारतमा निर्यात गर्दै आएको छ ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धि सिद्धि सिमेन्टले १० अर्ब ७७ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दैनिक २७ सय ६० टन क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब ४९ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

केएल दुगड ग्रुपद्वारा सञ्चालित स्वास्तिक आयल इन्डष्ट्रिज प्रालिले कर्जाका लागि १० अर्ब ४६ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले स्वास्तिक, धारा, सन्फ्लो, संगम र विगुल ब्रान्डमा विभिन्न प्रकारका खाने तेल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मोहन धारा र नरिस ब्रान्डको तेल भारतमा निर्यात गर्दै आएको छ । कम्पनीसँग वार्षिक १ लाख ३५ हजार मेट्रिक टन सोयाबिन/पामोलिन/सन्फ्लावर तेल र १० हजार मेट्रिक टन वनस्पति घ्यू उत्पादन गर्ने क्षमता छ ।

त्रिवेणी ग्रुप र विशालक ग्रुपद्वारा सञ्चालित घोराही सिमेन्ट उद्योगले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ३ करोड ७५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ गरी १० अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा उत्पादित सिमेन्ट बिक्री गर्दै आएको छ । पुरुषोत्तमलाल संघाई अध्यक्ष रहेको कम्पनीले क्षमता विस्तार गर्न लगानी थप गरेको छ । कम्पनीले १० अर्ब ५४ करोड १० लाख रुपैयाँ लगानीमा वार्षिक ९ लाख ५७ हजार मेट्रिक टन क्लिङ्कर उद्योग र ४ लाख २० हजार मेट्रिक ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने उद्योग निर्माण गरिरहेको छ । कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ८३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

डाइरेक्ट–टु–होम सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले १० अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले देशभर ७५ वटा वितरक, ४५ सयभन्दा बढी सहायक वितरक, १४ वटा सर्भिस सेन्टर, १५ सय बढी फ्रेन्चाइज र १० हजार बिक्री पोइन्ट, ३३ वटा लोकल केबल अपरेटर र १२५ वटा लोकल केबल अपरेटर फ्रेन्चाइजको सेवा दिँदै आएको छ । हङकङको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडको लगानी रहेको डिस मिडिया नेटवर्कले स्वदेशमा तथा विदेशमा एचडी तथा एसडी च्यानलको सेवा दिँदै आएको छ ।

त्यस्तै, संकलित तथ्याङ्कअनुसार रिलाइन्स स्पाइनिङ मिलले ९ अर्ब ३० करोड ७५ लाख रुपैयाँ, हुलास स्टिल इन्डष्ट्रिजले ८ अर्ब ७५ करोड ५ लाख रुपैयाँ, गणपति वनस्पति प्रालिले ८ अर्ब १ करोड २८ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

त्यस्तै, यति एयरलाइन्सले ७ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ, सोनापुर एण्ड आयलले ७ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ, पाल्पा सिमेन्ट इन्डष्ट्रिजले ७ अर्ब २७ करोड ४० लाख रुपैयाँ, गौरीशंकर सिमेन्टले ६ अर्ब ७३ करोड २७ लाख रुपैयाँ, स्याकर ट्रेडिङ कम्पनीले ६ अर्ब ६० करोड ७० लाख रुपैयाँ, डाबर नेपालले ६ अर्ब ६० करोड रुपैयाँ, अग्नि इन्कर्पोरेटले ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ र सिप्रदी हायर पर्चेजले ६ अर्ब २५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।

साथै, मैनावती स्टिल इन्डष्ट्रिजले ६ अर्ब २२ करोड ५० लाख रुपैयाँ, युनाइटेड डिस्ट्रिब्यूटर नेपालले ६ अर्ब रुपैयाँ, सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ, काठमाडौं इन्टरनेशनल हस्पिटलले ५ अर्ब ६५ करोड रुपैयाँ, हुलास आइरन इन्डष्ट्रिजले ५ अर्ब ५८ करोड २५ लाख रुपैयाँ, मारुती सिमेन्टले ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ, यति डिष्टिलरीले ५ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ, जगदम्बा मोटर्सले ५ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ, वल्र्डलिङ्क कम्यूनिकेशनले ५ अर्ब १९ करोड १५ लाख रुपैयाँ, नारायणी आयल रिफाइनरी उद्योगले ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ, पञ्चकन्या स्टिलले ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, नारायणी स्ट्रिप्सले ५ अर्ब ७ करोड ६ लाख रुपैयाँ, नारायणी इस्पातले ५ अर्ब ४ करोड २८ लाख रुपैयाँ र जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब २ करोड २० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।

कम्पनीहरुले रेटिङ गरेअनुसार बुद्ध एयरले ४ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ, लिटमस इन्डष्ट्रिजले ४ अर्ब ९७ करोड ८० लाख रुपैयाँ, इन्टिग्रेटेड मोबिलिटी सोलुसनले ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ४ अर्ब ७५ करोड रुपैयाँ, सर्वोत्तम स्टिलले ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ, हिम इलेक्ट्रोनिक्सले ४ अर्ब ६१ करोड ६० लाख रुपैयाँ र शुभश्री अग्नि सिमेन्ट उद्योगले ४ अर्ब ५९ करोड ६७ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

त्यसैगरी, प्रोबायोटेक इन्डष्ट्रिजले ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ, जेजीआई डिष्ट्रिब्यूसनले ४ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ, सीजी इम्पेक्सले ४ अर्ब २२ करोड रुपैयाँ, अन्नपूर्ण भेजिटेबल प्रोडक्टले ४ अर्ब १० करोड रुपैयाँ, विजयश्री स्टिललले ४ अर्ब ६ करोड रुपैयाँ र युनाइटेड ट्रेडर्स सिन्डिकेटले ४ करोड रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ।


अरिष्मा मोक्तान