संसदबाट नसके अध्यादेशबाट दर्जन कानून संशोधन गर्ने अर्थमन्त्रीको उद्‌घोष



काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।

“भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं,” मन्त्री पुनले भने । तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ वैशाखमा हुँदैछ ।

आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।

विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । फरक प्रसंगमा अर्थमन्न्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।


क्लिकमान्डु