बचतकर्ताको १ अर्ब १८ करोड बढी रकम फिर्ता नगरेपछि काठमाडौं महानगरका ८६ सहकारीको फाइल प्रहरीमा



काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ८६ वटा संस्थाले बचतकर्ताको बचत फिर्ता नगरी फरार रहेको पाइएको छ ।

काठमाडौं महानगर सहकारी विभागका निर्देशक बलराम त्रिपाठीका अनुसार ८६ वटा सहकारीका सञ्चालक सम्पर्कमा नआएपछि पक्राउ गरेर कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिएको छ । अन्य केही सहकारीको फाइल पनि प्रहरीलाई पत्राचार गर्ने अन्तिम अवस्थामा पुगेका छन् ।

काठमाडौं महानगरपालिकाले ८६ वटा सहकारी संस्थाका सञ्चालकले बचतकर्तालाई बचत फिर्ता नगरेको भन्दै थप कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

महानगरपालिकाभित्र कार्यक्षेत्र भएका १ हजार ९५५ सहकारीमध्ये बचतकर्ताको बचत हिनामिना गरेको र बचत फिर्ता नगरेको आरोपसहित विभागमा उजुरी परेका थिए । ती उजुरीका आधारमा विभागले पक्राउका लागि प्रहरीमा पत्राचार गरेको हो ।

२०७२ जेठ १२ देखि २०८० माघ १४ गतेसम्म ३ हजार ४१७ बचतकर्ताले उजुरी दिएका छन् । उनीहरुले १ अर्ब १८ करोड ६३ लाख ८५ हजार ४८१ रुपैयाँ माग दाबी गरेका छन् । उजुरी परेपछि संस्थाका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न विभागले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । यो वर्ष नै २५ वटा सहकारीले ठगेको भन्दै उजुरी परेको छ । महानगरमा परेका उजुरीमा बचत तथा ऋणको संख्या ७३ वटा रहेको छ भने बहुउद्देश्यीय १३ वटा रहेका छन् ।

२०८० यता उजुरी पर्ने सहकारीमा क्विक बचत तथा ऋण सहकारी, माँ अम्बे बचत तथा ऋण सहकारी, गरुढ बहुद्देश्यीय सहकारी, अभिमत बचत तथा ऋण, नेसनल बचत तथा ऋण, सम्वर्धन बचत तथा ऋण, नाता बचत तथा ऋण, प्रारम्भिक बचत तथा ऋण सहकारी, श्रमजिवि बचत तथा ऋण, जगत जननी बचत तथा ऋण, सिगल बचत तथा ऋण, जनकोष बहुउद्देश्यीय सहकारी, गुणकारी बचत तथा ऋण, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यस्तै गौतम बुद्ध बहुउद्देश्यीय, मुद्रा संञ्चिति बहुउद्देश्यीय, श्रीयुक्त बचत तथा ऋण, शुभ शिरिष बचत तथा ऋण, दिव्य शान्ति बचत तथा ऋण, डेरिभेटिभ्स बचत तथा ऋण, मध्य उपत्यका बचत तथा ऋण, असर्फि बचत तथा ऋण, पावर बचत तथा ऋण, हेल्पिङ सोसाइटी बचत तथा ऋण, डिल्लीबजार पिपलबोट बचत तथा ऋण र जनयोगी बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

महानगरमा उजुरी परेपछि महानगरको सहकारी विभागकाले सञ्चालकसँग सम्पर्क गर्र्नें, सञ्चालक सम्पर्कमा आएपछि बचतकर्ता र सञ्चालकलाई राखेर छलफल गराउने, सहकारीले बचतकर्ताको पैसा फिर्ता दिने सम्झौता गराउने,गरेको छ । त्यति गर्दा पनि पैसा फिर्ता गरेनन् र महानगरको सम्पर्कमा सञ्चालन नआएपछि कानुनी कारबाहीका लागि प्रहरीमा पत्राचार गर्ने गरेको छ ।

अहिले सहकारीमा समस्या देखिनुमा सञ्चालकको नियत खराब हुनु, सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार नचल्नु, अनुत्पादक क्षेत्रमा लगानी गर्नु, बढी मूल्यांकन गरेर कर्जा दिनु, एकाघरका परिवारका सदस्य र आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्नुलगायत रहेको देखिने गरेको छ ।

सहकारीका सञ्चालक समितिको बैठक नियमित नबस्ने, सदस्यलाई साधारणसभामा नबोलाउने, सभा समयमा नगर्ने, लेखापरीक्षण प्रतिवेदन साधारणभामा पेस नगर्ने, बिनाधितो ऋण दिने, सञ्चालकले सदस्यलाई ग्राहकको व्यवहार गर्ने र सञ्चालक मालिक बन्न खोज्ने, सञ्चालक आफैंले कर्जा लिएर अपचलन गर्ने, सहकारीलाई निजी कम्पनी जसरी चलाउने जस्ता प्रवृत्तिका कारण सहकारीमा समस्या देखिएको त्रिपाठीले बताए ।


क्लिकमान्डु