फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा फेरि समस्या, विश्वभर भयो डाउन



काठमाडौं । मेटामा एक ठूलो प्राविधिक समस्याका कारण ह्वाट्सएप, फेसबुक र इंस्टाग्राम लगायतका उसका सबै प्लेटफर्म केही समयका लागि डाउन भएको छ ।

तर अहिले भने प्राविधिक समस्यामा सुधार गरिसकिकएको मेटाले जनाएको बीबीसीमा उल्लेख गरिएको छ ।

बुधबार मध्य राति विश्वका हजारौ प्रयोगकर्ताले तीन प्लेटफर्म प्रयोगमा समस्या भइरहेको रिपोर्ट गरेका थिए । सामाजिक सञ्जाल एक्समा कयौंले यसलाई लिएर ट्वीट गरेका थिए ।

राति साढे ११ बजे मेटामा देखिएको समस्याका कारण करिब १ घण्टा ती सामाजिक सञ्जालहरु बन्द भएका थिए ।

वेबसाइट र एप्सको समस्यालाई ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार ह्वाट्सएपको ८० हजारभन्दा धेरै युजरले डाउन भएको जानकारी दिएका थिए ।

डाउनडिटेक्टरका अनुसार, भारतमा करिब ३ हजार ५ सय र ब्राजिलमा ७६ हजार भन्दा धेरै युजरले प्लेटफर्ममा समस्या भएको जानकारी दिएका थिए ।

यसपछि एक्समा एक पोस्टमा ह्वाट्सएपले केही प्रयोगकर्ताले प्लेटफर्ममा समस्या आएको जनाइरहेका छन् र आफूहरु यसलाई समाधान गर्न लागिरहेको जनाएको थियो ।

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आउँदा दुई घण्टाका लागि ह्वाट्सएप, इन्सटाग्राम र फेसबुक दु्ई घण्टाका लागि बन्द भएको थियो ।


क्लिकमान्डु