नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई ढकालको आग्रह



काठमाडौं । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले जापान-नेपालको लामो दौत्य सम्बन्ध रहेको बताएका छन् ।

जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि सक्दो सहयोग गर्न सदैब तत्पर रहेको बताए ।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नुपर्ने बताए ।
नेपालमा ठुला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गरे । यही अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरुलाइ आग्रह गरे ।

कार्यक्रमलाई सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपाल सँगको लामो ब्यवसायिक सहकार्य बढाउन तत्पर रहेको बताए ।

एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको छ ।

नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए । जापान-नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो । पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्यासंगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगायतको विषयमा वक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीहरूलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीहरू सँगै ब्यवसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो ।

पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन जस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तर्क्रिया कार्यक्रम अनि नेपालबाट जापानमा विद्यार्थी लगायत विविध क्षेत्रका कामदारहरू पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा अभिवृद्धि गर्न चाहने जापनिज कम्पनीहरूलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावना लगायतको विषयमा अन्तर्क्रिया गराइएको थियो ।


क्लिकमान्डु