चिनियाँ सरकारी निकाय, लगानीकर्ता र च्याम्बर तथा गैरआवासीय नेपालीलाई लगानी बढाउन आग्रह



काठमाडौं । लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ्ग, छेदू र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनको प्रि-इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको छ ।

आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरु, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमहरुमा आगामी लगानी सम्मेलनको उद्देश्य, लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयासहरु, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको थियो ।

मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिए । लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरे ।

कार्यक्रममा बोर्डका प्रवक्ता उपाध्यायले नेपालमा रहेको लगानीको प्रचुर सम्भावनाको खोजी गरी उपस्थित सहभागीहरुलाई नेपालमा लगानीको लागि आह्ववान गरे । १०० भन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरु, च्याम्बरका प्रतिनिधिहरु तथा गैर आवासीय नेपालीहरुको सहभागीता रहेको थियो।

मार्च २५ मा छेड्दुस्थित महावाणिज्यदूतावासको आयोजनामा संचालित कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिँदै आगामी महिना आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध गरे ।

भट्टले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानी बोर्ड लगानीकर्ताहरुलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको विषय जानकारी गराए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्री नारायणकाजी श्रेष्ठले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरुको विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि उपस्थित सहभागीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आह्रवान गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा लगानीको वातावरण सम्बन्धमा संक्षिप्त सिंहावलोकन प्रस्तुत गर्दै लगानीका आकर्षक क्षेत्रहरू-स्वच्छ र नवीकरणीय ऊर्जाका साथै भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्थानशील सहरी पूर्वाधार, खानी तथा खनिज परियोजनाहरूमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे ।

चीनका लागि नेपालका राजदूत महामहिम विष्णुपुकार श्रेष्ठले नेपाल चिनियाँ लगानीकर्ताहरूको रोजाइको गन्तव्य भएकाले लगानी सम्मेलनमा चीनबाट उल्लेख्य सहभागीता र लगानी प्रतिबद्धता पनि प्राप्त हुने विश्वास गरे ।


क्लिकमान्डु