दूरसञ्चार प्राधिकरणका २५ प्रतिशत कर्मचारीलाई भ्रष्टाचार मुद्दा, नियमित काम प्रभावित



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कुल ७२ जना कर्मचारीमध्ये तीन जना पूर्वकर्मचारीसहित १९ जना र दुई संस्थाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

मुद्दा लागेको कर्मचारीमध्ये १६ जना बहालवाला कर्मचारी हुन् । प्राधिकरणको दैनिक कार्य सञ्चलान गर्नेमध्येकै करिब २५ प्रतिशतलाई मुद्दा लागेका कारण प्राधिकरणको दैनिक कार्यसञ्चालन नै प्रभाविन हुन पुगेको छ ।

अख्तियारले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनालसहित थप १६ जना कर्मचारीलाइ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा राज्यलाई ९१ करोड रुपैयाँ हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दर्ता गरेको छ ।

अख्तियारले निर्देशक मिनप्रसाद अर्याल, सहायक उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, निर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक संदिप अधिकारी, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइराला विरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्राधिकरणका कर्मचारीमाथि लागेको यस्तो मुद्दाले दूरसञ्चार प्राधिकरणको नियमित काम प्रभावित भएको छ । प्राधिकरणमा एमडीएमएस आतंक मच्चिएको छ । एकैपटक कार्यरत १६ जनालाई परेको यस मुद्दाले निराशा छाएको प्राधिकरणका एक कर्मचारीले बताए ।

सहकर्मी तथा विभागीय प्रमुखलाई लागेको मुद्दाका कारण प्राधिकरणको दैनिक कार्यसम्पादन समेत प्रभावित हुने देखिएको उनी बताउँछन् ।


क्लिकमान्डु