चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन् ।

बिहीबार काठमाडौंमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा घिसिङले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भए पनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए ।

एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको उनले बताए ।

‘कुनै ठाउँमा फास्ट चार्जिङ स्टेशन राख्न लगानीकर्ताका लागि पोलिसी बनाइदिनुपर्छ, एकै ठाउँमा धेरै चार्जरहरु आयो, हाम्रो चार्जर फुल क्यापासिटीमा चल्नुपर्ने थियो, चलेन भन्नेसम्म भएको छ,’ उनले भने, ‘ यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ । म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानी कर्तालाई फास्ट चार्जिङ स्टेशनमा सबैले लगानी गर्नुपर्छ ।’

फास्ट चार्जिङ स्टेशनको लगानी मल्टी डाइरेक्शन लगानी हुने र त्यो एउटा ठूलो चेन बिजनेस बन्ने उनले भने ।

धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको उनले बताए । चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने उनको भनाइ छ ।

प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए ।

प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भए पनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको उनले बताए ।

‘यसमा निजी क्षेत्र आउनुपर्छ, निजी क्षेत्रलाई ओपन गर्नुपर्छ भनेर गरिरहेका छौँ । हामीले फास्ट चार्जिङ स्टेशनबाट कमाएका छैनौँ, गुमाएका छौँ । हामीले राति चार्ज गर्दा ५ रुपैयाँ, ७५ पैसा दिएका छौँ, हाम्रो कस्ट नै ९ रुपैयाँसम्म पर्छ । यो प्रमोसनका लागि हो । हाम्रो बेसिक प्राइज हामीले हाम्रो कस्ट भन्दा पनि कममा दिएका छौँ ’ उनले भने ।

उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताए । ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने घिसिङले बताए ।


क्लिकमान्डु