विजयश्री स्टिलको व्यापार २५ प्रतिशतले घट्यो, साढे ३ अर्बको कारोबार



काठमाडौं । विजश्री स्टिल प्रालिको व्यापार २५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २५ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ५३६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले डण्डी उत्पादन गर्दै आएको छ । दैनिक ७ सय मेट्रिक टन डण्डी र ४ सय मेट्रिक टन बिलेट उत्पादन क्षमता भएको कम्पनीले सन् २०१८ देखि व्यवसायिक कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ बाट मात्रै सीसीएम प्लान्ट (बिलेट उत्पादन गर्ने उद्योग) सञ्चालनमा ल्याएको छ ।

विजय ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा बजारमा कम माग आउँदा व्यापार प्रभाव परेको जनाएको छ । कम्पनीले सन् २०२३ मा ३५ हजार ७ सय ४४ मेट्रिक टन मात्रै डण्डी बिक्री गरेको थियो । कम्पनीले हालै मात्रै बिलेट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएकोले पनि डण्डी उत्पादन गर्ने कम्पनीको व्यापारमा प्रभाव परेको केयर रेटिङमा उल्लेख छ ।

तर, पछिल्लो समय बजारमा डण्डीको माग बढ्दै जाँदा सन् २०२४ मा कम्पनीको व्यापार रिबाउन्ड हुँदै गएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ अर्ब ६ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा २४ हजार ३ सय २६ मेट्रिक टन डण्डी बिक्री गरिसकेको छ ।

कम्पनीले डण्डी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्पञ्ज आइरन र पिग आइरन भारतबाट आयात गरी उत्पादन गर्दै आएको छ । विकास केडियाको स्वामित्व रहेको कम्पनीको देशभर ४ सय डिलर छन् ।


क्लिकमान्डु