लोडसेडिङ हुन लागेको हल्ला सही होइन: ऊर्जामन्त्री



काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिमा बैठकमा बोल्दै मन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको बताए । ‘हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्छ । त्यो प्रक्रियामा छौं । बाहिर आए जस्तो अवस्था होइन, ‘ उनले भने ।

भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नभएपछि ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिवलाई टेलिफोन गरेको समाचार मंगलबार क्लिकमान्डुमा पोस्ट भएको थियो ।

भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नभएर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि सचिव सिग्देलले फोन गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसबारे सिग्देललाई बिफ्रिङ गरेका थिए ।तर उर्जामन्त्री बस्नेतले भने लोडसेडिङ हुने अवस्था नरहेको दाबी गरेका हुन् ।

‘हामीले बिजुली ल्याउने अनुमति केहि दिन मात्रै बाँकी छ । अहिले प्रतिस्पर्धी बजारबाट ५ रुपैयाँ भारुमा पाइरहेका छौं । तर त्यहाँ नवीकरण गर्न सकिएन भने हामीलाई १० रुपैयाँ भारु पर्छ । ग्याँसको बिजुलीमा जादा धेरै महँगो पर्ने अवस्था छ’ ऊर्जा मन्त्रालयका एक इन्जिनियरले क्लिकमान्डुसँग भने, ‘त्यहाँका सचिवले भोलि ऊर्जा मन्त्रीसँग छलफल गरेर निर्णय दिने बताएका छन् ।’

उनका अनुसार कुनै पनि हालतमा १० रुपैयाँ भारु (१६ रुपैयाँ) मा बिजुली किन्न नसकिने सिग्देलले प्रतिक्रिया दिएका छन् । भारतीय पक्षले उच्च तहमा छलफल नगरी कुनै निर्णय दिन नसक्ने बताएका छन् ।

करिब ३ महिनादेखि प्रतिस्पर्धी बजारबाट आयात गर्न दिने अनुमति नवीकरणका लागि आनाकानी गर्दै आएको छ । अहिले प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गरिरहेको छ ।


क्लिकमान्डु