फागुनसम्ममा साढे १ खर्ब लगानी प्रतिबद्धता
काठमाडौं । स्वदेशी तथा विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा साढे १ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले १ खर्ब ५५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका हुन् ।
फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी लगानीमा २५८ वटा उद्योग दर्ता भएका छन् । त्यस्तै, फागुनमा मात्रै २२ वटा उद्योग दर्ता हुँदा २ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
सो अवधिमा १९ वटा साना, २ वटा मझौला र १ वटा ठूला उद्योग दर्ता भएका छन् । विभागले फागुनसम्ममा ३ सय ६५ वटा उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । तर, विभागमा लक्ष्यभन्दा कम उद्योग दर्ता भएको पाइएको छ ।
विभागले ८० वटा ठूला, ८५ वटा मझौला र २ सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । तर, विभागमा साना उद्योगबाहेक मझौला र ठूला उद्योग लक्ष्यभन्दा निकै कम दर्ता भएको पाइन्छ । जसमा ठूला ८० वटामा ३२ वटा मात्रै र ८५ वटा मझौला उद्योगमा २२ वटा दर्ता भएका छन् । साना उद्योग भने लक्ष्यभन्दा बढी दर्ता भएको छ । २ सय लक्ष्य राखेकोमा सो अवधिमा २०४ वटा उद्योग दर्ता गरेका छन् ।
त्यस्तै, फागुनसम्ममा साढे १ खर्ब लगानी प्रतिबद्धता जनाएका उद्योगबाट १८ हजार १५३ जनाले रोजगारी पाउनेछन् ।
त्यसैगरी, फागुन मसान्तसम्ममा २९ अर्ब १३ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।
विभागले फागुनसम्ममा ३८ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाउने लक्ष्य राखेको थियो । विभागअनुसार चालु आवको फागुनमा मात्रै ६ अर्ब ४७ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उक्त विदेशी लगानीबाट १३ हजार १६९ जनाले रोजगारी पाउने जनाएको छ ।
साथै, फागुन मसान्तसम्ममा २ वटा प्याटेन्ट दर्ता भएका छन् भने ७ वटा डिजाइन दर्ता भएको तथ्यांक छ । त्यस्तै, ३ हजार ८१३ वटा ट्रेडमार्क दर्ता भएका छन् ।