नयाँबजारको मिनि सहकारीका अध्यक्ष पक्राउ, ६ जना सञ्चालक फरार



काठमाडौं । बचतकर्ताको बचत रकम ठगेर मिनि बचत तथा ऋण सहकारी संस्थाका ६ जना फरार भएका छन् भने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा रहेको उक्त सहकारीका बचतकर्ता ईश्वर गजुरेलको ४ लाख ३३ हजार ९७ रुपैयाँ फिर्ता नभएपछि प्रहरीमा उजुरी दिएका थिए ।

उनको उजुरीपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । ७ जनाविरुद्ध दायर भएको मुद्दामा १ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् ।

अहिलेसम्म पक्राउ पर्नेमा चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका-५ मुग्लिन घर भई हाल काठमाडौ जिल्ला किर्तिपुर नगरपालिका-३ बस्दै आएका सहकारीका अध्यक्ष राममणि त्रिपाठी रहेका छन् ।

फरार हुनेमा धादिङ जिल्ला गजुरी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सहकारीका उपाध्यक्ष तथा प्रवन्धक समुन्द्र सागर कँडेल, धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका- ६ का प्रमोद सिलवाल रहेका छन् । उनी सहकारीमा सचिव रहेका थिए ।

यस्तै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-७ का प्रविन सिलवाल फरारक रहेका छन् । उनी सहकारीका कोषाध्यक्ष हुन् ।
फरार हुनेमा धादिङको गल्छी गाउँपालिका-२ की प्रमिला अधिकारी छिन् । उनी सहकारीको सदस्य हुन् ।
सहकरीमा सदस्य रहेकी धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका-३ की सुलोचना सिल्वाल, सहकारीका सदस्य धादिङको सिद्धलेक गाउँपालिका-६ का प्रकाश पन्त फरार रहेको प्रहरीले जनाएको छ ।

सहकारीका बचतकर्ता गजुरेलले आफूले बचत गरेको पैसा फिर्ता लिन जाँदा विभिन्न प्रलोभनमा पारेर बचत समयमा फिर्ता नदिएको र पछि सहकारी सञ्चालकहरु फरार भएका हुन् ।


क्लिकमान्डु