तराई मधेसमा आज होली मनाइँदै



काठमाडौं । रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्परा रहेको छ । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको छ ।

रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।


क्लिकमान्डु