‘काम गर्न नसके झोलामा राजिनामा पनि सँगै छ’ : गृह मन्त्री लामिछाने




काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठो माछा भए पनि समातेरै छाड्ने दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने उल्लेख गरे ।

‘कतिपय माछाहरू बढि चिप्लो हुन्छन्, समाउन खोज्दा चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन्,’ मन्त्री लामिछानेले भने,’जतिसुकै चिप्ला र बाठा माछा भएपछि समाएरै छाड्छौं । तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’

उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे । उनले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गरे ।

लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने उल्लेख गरे । जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गरे ।

‘नेपाली जनताले दिएको शक्तिलाई ब्याज सहित फिर्ता गर्ने प्रतिबद्धता छ भने त्यो हो राजनीति, हामीले गर्ने राजनीति त्यो हो । चितवन २ का जनताले सबैभन्दा धेरै मत पाउने सांसदको रूपमा मलाई पठाइसकेपछि मेरो कर्तव्य हुन्छ,’ उनले भने, ‘ती जनतालाई उनीहरूले दिएको शक्ति फेरी फिर्ता दिने, मेरो आफ्नो माग मुद्दा, मेरो परिवारको माग मुद्दा, मेरा आफ्ना साथीभाइका माग मुद्दा, मेरा वरपरका साथीभाइका माग मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन्, ढुक्क हुनुहोस् ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा जोखिम मोलेर सरकारमा गएको बताए । काम गर्न नसकेको अवस्थामा प्रधानमन्त्रीले कांग्रेसलाई जस्तो गलहत्त्याएर निकाल्नुपर्ने अवस्थामा रहेको र काम गर्न नसकेको अवस्थामा सरकारबाट बाहिरिन सबैको झोलामा राजिनामा पनि सँगै रहेको टिप्पणी गरे ।

लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजिनामा माग्दैमा आफुले नदिने बताए । उनले कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न आफु तयार रहेको बताए ।

लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए । ‘खल्तीमा राजीनामा बोकेर हिंडेका छौं,’ उनले भने ।

सहकारीको विषयमा भने आफूले पार्टीभित्र र सञ्चारमाध्यममा प्रष्ट भन्ने गरेको बताए ।संसदमा भने कांग्रेसले आफूलाई सुन्न नचाहेको भन्दै गृहमन्त्री लामिछानेले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरुलाई । तपाईं कहाँ, कहिले र कुन मितिमा बोलाउनु हुन्छ, खुला ठाउँमा बहस गर्न चाहन्छु ।’

‘तपाईंले भनेको ठाउँमा बोलाउनुस्, भए भरको सम्पूर्ण प्रमाण लिएर आउनु होला । तपाईंकै निर्वाचनको क्षेत्रका मान्छेको अगाडि बहस गर्न चाहन्छु,’

आफूमाथि प्रश्न गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापातर्फ संकेत गर्दै गृहमन्त्री लामिछानेले भने, ‘यो बहस काठमाडौंको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझ सहज हुन्छ । त्यहाँका मतदाताले थाहा पाउनुपर्छ, जसलाई ठगीको आरोप लगाइएको छ, ठगी त्यसले गरेको छ अरु कसैले गरेको छ ?’


क्लिकमान्डु