बर्षाबाट प्रभावित हुने भयो होली पर्व, तीन दिन अझै पानी पर्ने



काठमाडौं । यस पटकको होली (फागु) बर्षातको पानीमै रुझेर मनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म नियमित रुपमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ । राजधानीसहित पहाडी र हिमाली भेगमा आइतबार होली पर्व मनाउन लागिएको छ ।

यस्तै सोमबार तराई मधेशका जिल्लामा होली पर्व परेको छ । मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार आगामी सोमबारसम्म पानी पर्ने सम्भावना छ । यो प्रक्षेपणअनुसार आइतबार र सोमबार पानी पर्ने हो भने होली बर्ष बर्षाको पानीमा रुझेर मनाउनुपर्ने अवस्था सिर्जना हुनेछ ।

हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

मौसमविद् गोविन्द झाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

‘कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना छ’, उनले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।’


क्लिकमान्डु