लगानी सम्मेलन अघि १० कानून संशोधन गर्ने तयारी : उद्योगमन्त्री भण्डारी



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र र दातृ निकायलाई आकर्षित गर्ने उद्देश्यले लगानी सम्मेलन अघि १० प्रकारका कानून संशोधन गर्ने तयारी भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रसँग सहकार्य गर्दै कानून संशोधन गर्न लागेको बताएका हुन् । उनले अन्तरमन्त्रालयमा रहेका कानूनलाई समेत फास्ट ट्र्याकबाट समेटेर अगाडि बढाउन लागिएको जानकारी दिए ।

उद्योगमन्त्री भण्डारीले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र यसको समाधान पनि भएको बताए । ‘अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । यसको समाधानका उपाय पनि होलान् । यस्ता छलफलबाट निष्कर्ष पनि आउने छन्,’ उनले भने ।

निराशालाई चिर्दै आशा जगाउने प्रतिवद्धतासहित सरकारले केही अवधारणा सार्वजनिक गरेको र त्यसकै जगमा अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

‘लगानी किन भित्रिएको छैन ? लगानीको वातावरण किन बनेन ? नेपालको ठूलो जनशक्ति विदेशिदै छ । नेपालका सम्भावनाप्रति निराशा छ, यसलाई चिर्नुपर्ने छ । यसका कारण धेरै होलान् । नीतिगत अस्पष्टका कारण पनि होला, यसमा सरकार संवेदनशील छ,’ उद्योगमन्त्री भण्डारीले भने ।

आर्थिक क्षेत्रमा भएका संकटको मोचनका लागि सरकारले लगानी सम्मेलन गर्न लागेको उनले बताए ।

उनले लगानी गर्न इच्छुक दातृ निकाय र निजीक्षेत्रलाई नीतिगत समस्या नरहेको भन्दै ढुक्कसँग लगानी गर्ने वातावरण बनाउने प्रतिबद्धता गरे ।

‘यी समस्यासँग जुधेर आएका निजीक्षेत्रलाई समेटेर सम्भावनामा बदल्दै सरकारले अगाडि बढ्छ । सरकारले स्टार्टअपका नीतिलाई प्राथमिकतामा सारेको नेपाली उत्पादनलाई प्रोत्साहित गरेको छ,’ उनले भने ।


क्लिकमान्डु