प्रभु बैंकबाट करोडौं अपचलन गर्ने निरज विक्रम शाह पक्राउ, तीन वटा चेकबाट १ करोड ३१ लाख निकालेका थिए



काठमाडौं । करोडौँ रुपैयाँ अपचलन गरेर फरार भएका प्रभु बैंकका कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडीबजारमा रहेको प्रभु बैंकको शाखाबाट करिब २ करोड रुपैयाँ पैसा अपचलन गरेर फरार रहेका शाहलाई आज सार्वजनिक गरेको हो।

बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज विक्रम शाहलाई बिहीबार नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेर आज सार्वजनिक गरेको डिएसपी नवराज भट्टराईले बताए ।

शाहले १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गरेका थिए ।

तिमिल्सिनाले मुद्धा दर्ता गरेको भन्दा बाहेक अन्य १९ जना व्यक्तिले आफुले बैंकमा जम्मा गरेको पैसा शाहले जम्मा नगरेको भन्दै उजुरी दिएको डिएसपी भट्टराईले बताए । शाहले बैंकमा कार्यरत रहदा माघ ७ गते, १७ गते र १९ गते बैंकको शाखाबाट चेक नम्बर ००४४२१३७२३ बाट २९ लाख, चेक नम्बर २०४४२१३७२४ बाट ७८ लाख ७५ हजार र चेक नम्बर ००४४२१३७२१ नम्बर बाट २३ लाख ५० हजार रुपैयाँ सहित १ करोड ३१ लाख २५ हजार अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरेको भट्टराइले बताए ।

‘शाहले ३ वटा चेकबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको देखिएको छ’ उनले भने ‘ त्यो मात्रै नभएर बैंकका सेवाग्राहीले जम्मा गरेको पैसा शाहले उनीहरुको खातामा जम्मा नगरी आफैले प्रयोग गरेको भन्दै उजुरी आईरहेको छ । अहिलेसम्म करिब २ करोड पुगेको छ । अनुसन्धान गर्दैजाँदा यो रकम बढ्ने देखिएको छ ।’

शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न सुरु गरिएको डिएसपी भट्टराईले बताए ।


सोभित थपलिया