गिग अर्थतन्त्रमा सत्ता गठबन्धनको जोड: भूमि बैंक र कृषि उपजको बीमासम्मको योजना



काठमाडौं । सत्ता गठबन्धनले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनका तर्फबाट सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ नामको सरकारको साझा न्यूनतम कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने उल्लेख छ ।

यता स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गरिने भएको छ । यसैगरी कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकरण, निर्यात व्यापार र आपूर्ती व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाउने, वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्कील गेन) माध्यम बनाउने योजना सत्ता गठबन्धनको योजना छ ।

यसैगरी रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेस इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गरिनेछ भने उद्योग–व्यापार र सेवालगायतका सबै क्षेत्रमा व्यावसायिक वातावरण सिर्जना गरी उद्यमी–व्यवसायीहरूको टुटेको मनोवललाई उठाउने न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा उल्लेख छ । निजी क्षेत्रका संघहरूकै साझेदारीमा हरेक पालिकाहरूमा ‘बजार मिल्दो, युवा केन्द्रित’ सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले बनाएको छ ।

कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याइनेछन् भने पालिकास्तरमा ‘भूमि बैंक’ जस्ता उपायबाट जमिनको व्यवस्था हुने गठबन्धनको घोषणा छ ।

स्थानीय बैंक/वित्तिय संस्थामार्फत् पूँजीको व्यवस्था गरिनेछ, सिँचाई, मल, औजार–उपकरण आदिको प्रबन्ध हुनेछ । कृषि उपजको बीमा गर्ने, त्यसको समर्थन मूल्य तोक्ने र व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौता सहितको प्रणाली विकास गर्ने जसता विषय साझा न्युनतम कार्यक्रममा उल्लेख छ ।

पौडेलले व्यवसाय, लगानी र व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय ‘बेन्चमार्किङ’का सूचकाङ्कहरूमा सुधार गर्ने, उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा आयात प्रतिस्थापनसँगै निर्यातको सम्भावना भएका उत्पादनमा आत्मनिर्भरता बढाउने योजना अघि बढाउन तरकारी, फलफूल र माछालगायतका खाद्यवस्तु, जुत्ता, सिमेन्ट, आँखाको इन्ट्राओक्युलर लेन्सलगायतका औषधी आदिको उत्पादन र उपयोगलाई प्राथमिकता दिने पनि उल्लेख छ ।

आर्थिक सम्भाव्यताका रुग्ण उद्योगहरूलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप पुनः सञ्चलनमा ल्याउने गठबन्धनको तयारी छ । काम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि नियमित कमाइ हुने वाताबरण बनाउने प्रतिबद्धता न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत गरिएको छ ।


क्लिकमान्डु