दुर्गा प्रसाईंका सुरक्षा गार्ड बन्दुकसहित पक्राउ परेपछि हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई निर्देशन दिएको छ।

सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौविस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । व्यवसायी दुर्गा प्रसाईंको सुरक्षा गार्डसहित दुई जना हिजो सर्वोच्च प्रवेश गर्न लाग्दा पक्राउ परेका थिए ।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो।

पत्रमा ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’ भनिएको छ।


क्लिकमान्डु