कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न: ठाडो उजुरी पर्नासाथ मन्त्रीले राजीनामा दिने सहमति गर्न सक्छौं ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई ठाडो उजुरी पर्नासाथ राजीनामा दिने सहमति गर्न सक्छौं भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेविरुद्ध उजु्री नपरेको र उनले सहकारीबाट लिएको ऋण फर्छ्यौट गरेको देखिएको भन्दै ठाडो उजुरी परेकै भरमा राजीनामा दिन उपयुक्त हो भन्दै प्रश्न गरेका छन् ।

‘उहाँको नाममा उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ ? ठाडो उजुरी पर्नासाथ राजीनामा दिने सहमति हामी गर्न सक्छौं ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

‘रविको पार्टी सरकारमा सहभागी हुने चर्चा चलेपछि संसद प्रभावित हुने गरि उठाउनु कति जायज छ वा छैन बुझ्न जरुरी ,’ प्रधानमन्त्रीले भने, ‘सुशासनमा सम्झौता गर्दिन, यदी अनुसन्धानबाट केही कैफियत देखिए उहाँलाई कारबाही गर्न सकैले रोक्न सक्ने छैन ।’

मुद्दा प्रभावित पार्नेले गृहको सट्टा अर्को मन्त्रालयमा बसेर पनि पार्न सक्ने सम्भावना हुने उनले बताए ।

प्रधानमन्त्री दाहालले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न कांग्रेससँग अनुरोध गरे ।


क्लिकमान्डु