८ महिनामा नेपालको व्यापारघाटा सवा ९ खर्ब



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सवा ९ खर्ब व्यापारघाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको ८ महिनाको अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको हो ।

नेपालले गत आवको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । नेपालले चालु आवको ८ महिनाको अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत आवको सोही अवधिमा नेपालले ११ खबै ६३ अबै १८ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

चाल आवको फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । जसमा चालु आवमा गत आवको तुलनामा २.६६ प्रतिशतले कम आयात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, नेपालबाट निर्यात हुने वस्तु तथा सेवा भने ३.९९ प्रतिशतले कम भएको छ । गत आवको ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

नेपालले फागुन मसान्तसम्ममा १५८ देशसँग वैदेशिक व्यापार गरेको छ । साथै, नेपालले आयात गरेको वस्तु तथा सेवाबाट २ खर्ब ७० अर्ब ७८ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु