५ वर्षपछि पहिलो पटक नाफामा डीडीसी, किसानको वक्यौता तिर्न सकेन



काठमाडौं । कच्चा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न नसकेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ५ वर्षपछि नाफामा गएको छ ।

पछिल्लो आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७४/७५ मा नाफामा गएको डीडीसी पछिल्लो आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म भने निरन्तर रुपमा घाटामा पुगेको थियो।

डीडीसीका महाप्रवन्धक सञ्जिवकुमार झाकाअनुसार पछिल्लो ५ वर्षपछि चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म पाँच करोड १५ लाख पाँच हजार १९४ रुपैंयाँ आर्जन गरेको छ ।

डीडीसीले साउनदेखि पुससम्मको अवधिमा भने एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको भेटिएको छ । कर फछ्र्यौटपछि पाँच करोड १५ लाख नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने डीडीसीले ४८ करोड ४२ लाख २७ हजार ५ सय १३ रुपैयाँबराबरको घाटा व्यहोरेको थियो ।

महाप्रवन्धक झाका अनुसार कच्चा दुधको लागत खर्च घटाइएका कारण डीडीसी नाफामा गएको हो । किसानबाट दुध संकलन गर्दा सबै दुधमा ३ प्रतिशत फ्याट (चिल्लोपना) र ८ प्रतिशत एसएनएफ (चिल्लोपना वाहेकको ठोस पदार्थ) को उपस्थिति अनिवार्य रुपमा हुँदैनन् ।

‘यस्तो अवस्थामा कम परिमाणमा एसएनएफ भेटिएको दुधमा अनिवार्य रुपमा ८ प्रतिशत पुर्‍याउन पाउडर दुध मिसाउनुपर्ने हुन्छ,’ झाले भने, ‘यो मिसाउँदा दुधको लागत खर्च अत्याधिक बढ्ने हुन्छ तर दुधमा अनिवार्य रुपमा ८ प्रतिशत एसएनएफको उपस्थिति हुन्छ ।’

एसएनएफको परिमाण पुर्‍याउन पाउडर दुध समिश्रण गर्दा लागत खर्च बढ्दै गएकाले डीडीसीले पछिल्लो समयमा बालाजु आयोजनामार्फत अनिवार्य रुपमा कच्चा दुधमा ८ प्रतिशत एसएनएफ उपस्थिति भएको दुध मात्रै खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

यो प्रक्रिया सुरु भएपछि अहिले संकलित भएको दुधमा अनिवार्य रुपमा ८ प्रतिशत एसएनएफ पाउन थालेको छ । यसले गर्दा एसएनएफको मात्रा बढाउन पाउडर दुध प्रयोग नहुँदा डीडीसी नाफामा गएको हो ।

‘कच्चा दुधमा मापदण्डअनुसार एसएनएफको मात्रा अनिवार्य रुपमा पुरा गर्न पाउडर दुध प्रयोग गर्दा वार्षिक करिब १९ करोड रुपैयाँ अतिरिक्त खर्च हुन्थ्यो,’ उनले भने, ‘अहिले मापदण्ड विपरितको दुध खरिद नगर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि अतिरिक्त खर्च हुने रकम जोगिएर संस्थान नाफामा गएका हो ।’

डीडीसीअन्तर्गत बालाजु, बिराटनगर, हेटौडा, बुटबल, कोहलपुर र अत्तरियामा आयोजनाहरु सञ्चालनमा छन् । यसमध्ये सबैभन्दा ठूलो क्षमताको बालाजु आयोजना हो । यो आयोजना नाफामा जाँदा डीडीसीले नाफा आर्जन गर्छ, घाटामा जाँदा डीडीसी घाटामा जाने हुन्छ ।

प्रत्येक आर्थिक वर्षमा १० देखि ११ करोड मात्रै नाफा आर्जन गर्दैआएको बालाजु आयोजनाले पनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ । साउनदेखि पुस मसान्तसम्म ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

बालाजु आयोजनाको प्रमुखमा गणेश यादब आएपछि उनले मापदण्डअनुसार मात्रै दुध खरिद गर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि उक्त आयोजना नाफामा गएको डीडीसीले जनाएको छ ।

डीडीसीले पछिल्लो ६ महिनाको अवधिमा नाफा आर्जन गरे पनि नगदको रुपमा नाफा आर्जन गर्न केहि समय कुर्नुपर्ने भएको छ । डीडीसीले उत्पादन गरेको १ अर्ब १० करोड रुपैयाँबराबरको पाउडर दुध र मख्खन स्टकमा बसेको छ । ८५० मेट्रिक टन पाउडर दुध र ७५० मेट्रिक टन बटर स्टकमा बसेको हो ।

चैत महिनादेखि तरल दुधको उत्पादन कम हुन्छ । चैतदेखि आगामी ६ महिनासम्म तरल दुधको उत्पादन कम हुँदै गएपछि तरल दुधमा पाउडर दुध समिश्रण गरी बिक्री गर्ने व्यवस्था छ ।

‘हामीसँग मौज्दात रहेको ठूलो परिमाणमध्ये पाउडर दुध चैतदेखि आन्तरिक रुपमा उपभोग हुने भएकाले पाउडर दुध र तरल दुध खरिद वापतको रकम जोगिएर नाफामा गएको वित्तिय प्रतिवेदन तयार भएको छ,’ महाप्रवन्धक झाले भने,‘यो प्रक्रिया सुरु भएपछि नाफावापतको नगद रकम नै प्राप्त हुन्छ ।’

उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन सुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए ।

डीडीसीले किसानसँग खरिद गरेको दुधको करिब पौने २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारले किसानलाई भुक्तानी दिन डीडीसीलाई ३० करोड रुपैयाँ ऋण उपलब्ध गराउने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

यस्तै निजी डेरी उद्योगले पनि किसानलाई करिब साढे ३ अर्ब रुपैयाँ वक्यौता भुक्तानी गर्न बाँकी छ ।


राजेश बर्मा