रिटेल कर्जामा नबिल बैंक आक्रामकः बैंकको परिचय नै बदल्ने विभाग हाँकिरहेकी चाँदनीको मिसन २ खर्ब



काठमाडौं । पछिल्लो समय नबिल बैंक रिटेल लेण्डिङ (खुद्रा कर्जा विस्तार)मा आक्रामक देखिएको छ । खुद्रा कर्जाले अर्थतन्त्र र बैंक दुबैको वृद्धिमा महत्वपूर्ण सहयोग गर्छ । त्यसैले नेपालको बैंकिङ क्षेत्र कर्पोरेटबाट बिस्तारै रिटेलफर्त केन्द्रित हुन खोजिरहेको अवस्थामा नबिल बैंकले रिटेलमा आफ्नो पोर्टफोलियो बढाएको हो ।

५/६ वर्ष पहिले १८/१९ अर्बको हाराहारीमा रहेको रिटेल कर्जा २०८० पुस मसान्तसम्म आइपुग्दा १ खर्ब नाघेको छ । अबको बैंकको रणनीति भनेको १०० अर्बबाट १५० अर्ब वा २०० अर्ब रुपैयाँ कसरी पुर्याउने भन्ने सोचका साथ बैंक अघि बढिरहेको छ । अहिले समग्र कर्जामा रिटेल लोनको हिस्सा २७ प्रतिशत हाराहारीमा पुगेको छ ।

केही समयअघि सम्म सर्वसाधारणमा नबिल आम मानिसका लागि उपयोग बैंक होइन भन्ने भ्रम थियो । तर, अहिले मानिसमा त्यो भ्रम चिरिएको छ । नबिलले रिटेल लेण्डिङलाई प्राथमिकतामा राखेको छ र बैंकका ग्राहक गाँउगाँउमा रहेका छन् ।

रिटेल लेन्डिङ डिपार्टमेन्ट हाँकिरहेकी छन् चाँदनी श्रेष्ठ । बैंक रिटेल लेन्डिङमा कस्तो रणनीतिका साथ अघि बढिरहेको छ ? रिटेल लेन्डिङ भनेको के हो ? यसले बैंक र समग्र अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? लगायतका विषयमा केन्द्रित रहेको क्लिकमान्डुले यो आलेख तयार पारेको छ ।

काठमाडौं बत्तिसपुतलीकी चाँदनी श्रेष्ठ नबिल बैंकको रिटेल लेण्डिङ विभाग प्रमुख हुन् । २४ वर्षको उमेरमा तत्कालीन एनआईसी बैंकबाट म्यानेजमेन्ट ट्रेनिको रुपमा बैंकिङ यात्रा सुरु गरेकी श्रेष्ठले करिब १७ वर्षको अवधिमा बैंकिङ क्षेत्रका धेरै आरोह अवरोह भोगेकी छिन् ।

बैंकरको रुपमा धेरै चुनौतीको सामना गरेको उनी बताउँछिन् । त्यसरी आउने चुनौतीलाई अवसरको रुपमा लिन सक्नु पर्ने उनको बुझाइ छ। चुनौती नभएको काम गर्नुको अर्थ नभएको चाँदनीको बताउँछिन् ।

‘काम गर्दा धेरै चुनौती र अवसर आउँछ । हामीले चुनौतीलाई मात्रै हेर्ने हो भने अवसर पाइँदैन,’ दरबारमार्गस्थित कार्यालयमा भेटिएकी श्रेष्ठले भनिन् ‘हामीले चुनौतीलाई चुनौतीको रुपमा मैले गर्न सक्दिन भनेर हेर्ने हो की अवसरको रुपमा लिने हो । मानिसले चूनौतीलाई अवसरको रुपमा लिनुपर्छ । चूनौती नहुने काममा काम गर्नुको अर्थ हुँदैन ।’

सन् २००७ मा काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘मास्टरर्स इन बिजनेश एडमिस्ट्रेसन’ गरेकी श्रेष्ठ सफल बन्न योजना, अवसरको पछि मात्र नलागी चुनौतीको सामना गर्नु पर्ने बताउँछिन् ।

त्यसैले उनले योजना बनाएर बैंकिङ क्षेत्र रोजेकी भने होइनन् । शिक्षक बन्ने योजना बुनेकी उनको बाटो मोडियो । अध्ययन गरेको विषय भएकाले धेरैले गरे जस्तै उनी पनि बैंकिङ क्षेत्रमा लागिन् । श्रेष्ठ बाध्यताले वा पहिला नै योजना बैंकिङ क्षेत्रमा होमिएकी भने होइनन्।

‘म बैंकिङ क्षेत्रमा चाहेर आएको होइन । मैले कुसुमबाट फाइनान्सलाई मेजर राखेर एमबिए गरे’ श्रेष्ठले भनिन् ‘पढाइ भइरहेको समयमा बैंकमा आवेदन दिइयो । त्यो बेला अवसर पाइयो । बैंकिङ क्षेत्रमा नै आउने भन्ने योजना नभए पनि एमबिए गरेपछि धेरैको योजना बैंकमा नै काम गरौं भन्ने चै हुन्छ नै ।’

ग्ल्यामर पेसा बैंकिङमा अन्य कार्यालयको तुलनामा बढी समय दिनु परे पनि कर्मचारीले पाउने सम्मान, इज्जत प्रतिष्ठा, बैंकले दिने सेवा सुविधा उनलाई राम्रो लाग्छ । त्यसभन्दा बढी उनी त्यतिबेला खुसी हुन्छिन् जतिबेला आफूले दिने सेवाबाट खुसी भएका ग्राहकले ‘धन्यवाद’ भन्छन् । ‘मलाई धन्यवाद भन्ने शब्द निकै प्यारो लाग्छ । काम गरेपछि कसैले तपाईंलाई धन्यवाद नभन्न पनि सक्छ । यो सजिलै पाइने कुरा होइन’ उनी भन्छिन् ।

नेतृत्व र परिवारको साथ

राम्रो काम गर्न, कामको जस लिन, नेतृत्वमा पुग्न एक्लैको योगदानले मात्रै पुग्ला र ? ग्राहकले काम सकेर कार्यकक्षबाट निस्कदै गर्दा धेरै धेरै धन्यवाद हजुर भनेर मुस्कानसहित सुन्नका लागि एक्लैको मेहनतले पुग्दैन । त्यसका लागि परिवार र संस्थाको साथ सहयोग चाहिने श्रेष्ठको बुझाइ छ ।

‘हाम्रो सामाजिक संरचना कस्तो छ त्यसमा पनि ध्यान दिनुपर्छ । करियरमा पिकमा जानुपर्ने समयमा विवाह, पारिवारिक योजना जस्ता विषय आउने गर्छन्’ श्रेष्ठ भन्छिन्, ‘करियरको पिक समयमा यस्ता विषयले निकै दुःख दिन्छ । कामलाई बढी समय दिने की परिवारलाई ? दुवैलाई समय दिन सक्ने सफल पनि हुन्छन् । नसक्नेले बीचैमा करियर छोड्नुपर्ने पनि हुन सक्छ ।’

कुनै पनि क्षेत्रमा अघि बढ्न सामाजिक संरचना र परिवारका कारण केही हदसम्म असहजता हुने अवस्था महिलामा हुने उनको बुझाइ छ । विवाह र बालबच्चा भएपछि उनीहरुमाथिको दायित्वले पनि केही समस्या पर्ने भए पनि त्यसलाई मिलाएर अघि बढ्न सके व्यवसायीक जीवन अघि बढ्ने उनी बताउँछिन् । त्यो मामलामा आफू भाग्यमानी भएको उनी बताउँछिन् ।

‘त्यसका लागि परिवार, जीवन साथीको साथ निकै महत्वपूर्ण हुन्छ’ उनले भनिन् ‘यस्ता विषयमा धेरै महिला समस्या पर्ने गरेको देखिन्छ । कतिपयले त जागिरे जीवन नै छोडनु परेको छ । यो मामिलामा म आफूलाई भाग्यमानी ठान्छु ।’

नबिलसँगको सहयात्रा र सहकर्मीको साथ

श्रेष्ठ २०७३ फागुनबाट नबिल बैकसँग जोडिइन् । रिटेल सेल्स शाखामा बिजनेश डेभलपमेन्ट मेनेजरको रुपमा बैंकमा सेवा प्रवेश गरेकी श्रेष्ठले पुल्चोक शाखाबाट काम थालिन् । ‘रिटेल लेण्डिङको हब पुल्चोकमा थियो । म बिजनेश डेभलपमेन्ट म्यानेजर भएर आएपछि पुल्चोकमा जाने निर्देशन थियो ।’

नबिलमा जानुअघि कतिपयले उनलाई काम गर्न असहज रहेको भन्दै नजान सुझाव नदिएका होइन् । तर उनले त्यसलाई वास्ता गरिनन् र ति सुझाव दिनेहरुको भनाइ असत्य भएको उनले सुरुवाती दिनबाटै पाइन् ।

‘त्यो बेला मलाई धेरैले नबिलमा नजान सुझाव पनि दिनु भएको थियो । अन्य बैंकमा जस्तो नयाँलाई त्यहाँ राम्रो स्वागत गरिँदैन भन्ने उहाँहरुको कुरा थियो’ उनले भनिन्, ‘तर, त्यो सबै मेरा लागि गलत साबित भइदियो । पहिलो दिनबाट काम गर्दा कार्यालय व्यवस्थापनदेखि अग्रजहरुले गर्ने माया, हरेक विषयमा देखिएको साथ मेरा लागि स्मरणीय छ ।’

नबिलमा जोडिएको ७ वर्षसम्म पूरा हुँदा उनलाई दशकौंदेखि आफूले यही संस्थामा काम गरिरहेको अनुभव भइरहेको छ ।

अहिले उनी नबिल बैंकको रिटेल लेण्डिङ विभाग प्रमुख भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेकी छन् । उनलाई लाग्छ-चुनौतीलाई अवसरमा बदल्न गरेको प्रयासले आज आफू यो स्थानमा छु ।

आम मानिसलाई दैनिक जीवनमा चाहिने ऋण रिटेल लेण्डिङ अन्तर्गत पर्छ । घर, गाडी, बिहे ब्रतबन्धदेखि आय आर्जनसम्म गर्नका लागि चाहिने लगानीमा उनको विभागले सहयोग गर्छ । सही समयमा सही ठाँउमा गर्ने लगानीले व्यक्तिलाई पार्ने प्रभाव राम्रो हुने र आफूहरुले त्यसमा साथ दिइरहेको चाँदनी बताउँछिन् ।

पछिल्लो समय नबिल बैंकले रिटेल लेण्डिङमा धेरै ग्रोथ गरेको श्रेष्ठ बताउँछिन् । केही समयअघि सम्म सर्वसाधारणमा नबिल आम मानिसका लागि उपयोग बैंक होइन भन्ने भ्रम थियो । तर, अहिले मानिसमा त्यो भ्रम चिरिएको छ । नबिलले रिटेल लेण्डिङलाई प्राथमिकतामा राखेको छ र बैंकका ग्राहक गाँउगाँउमा रहेका छन् ।

‘५/६ वर्ष पहिले रिलेट लेण्डिङको हिस्सा १८/१९ अर्बको हाराहारिमा रहेको थियो,’ बैंकको रिटेल लेण्डिङ विभाग प्रमुख श्रेष्ठ खुसीयुक्त भावमा भन्छिन्, ‘ पुस मसान्तसम्म आइपुग्दा १०० अर्ब नाघेको छ ।’ यो आफूहरुका लागि निकै राम्रो विषय भएको उनी बताउँछिन् ।

उनको टीमको योजना रिटेल लेण्डिङलाई अझै बढाउने रहेको छ । ‘अब हाम्रो रणनीति भनेको १०० अर्बबाट १५० अर्ब वा २०० अर्ब कसरी पुग्छ भन्ने नै हो’ उनले भनिन् ।

गाँउ गाँउमा बैंकिङ सेवा पुर्याउनु पर्छ भन्ने लक्ष्य राष्ट्र बैंकको छ । यसमा रिटेल लेण्डिङले धेरै नै सहयोग गरेको छ । अहिले समग्र कर्जामा रिटेल लोनको हिस्सा २७ प्रतिशत हाराहारीमा रहेको श्रेष्ठले बताइन् ।

कतिपयले बैंकबाट कर्जा लिँदै झण्झट भएको बताउने गरे पनि चाँदनी त्यसलाई स्वीकार गर्दिनन् । धितोभन्ना साथ केही कागजात चाहिने भए पनि त्यसलाई झण्झटको रुपमा लिन नहुने उनी बताउँछिन् ।

‘आम मानिसमा बैंकबाट कर्जा लिँदा बैंकले धेरै कागजात माग्छ, मागेअनुसार कागजात दिन सकिँदैन भन्ने भनाइ पनि छ । तर, त्यसो होइन। धितो भनेपछि आवश्यक कागजात चाहिन्छ नै’ उनले भनिन् ‘राष्ट्र बैंकले पनि त्यही अनुसार नै हेरेको हुन्छ । कुनै व्यक्तिले कर्जा लिँदा उसले घर धितो राख्ने हो भने लालपुर्जा, नक्सापास, चार किल्ला, तिरो तिरेको रसिद चाहिन्छ । निर्माण सम्पन्न कागज चाहिन्छ । मापदण्डमा रहेर घर बनेको छ की छैन त्यो कागज चाहिन्छ । ग्राहकले कर तिरेको विवरण, आम्दानीको स्रोत चाहिन्छ ।’

गाँउ-गाँउमा नबिल

नबिल बैंकले पहिलादेखि नै सहरसँगै गाँउबेसीमा दिने सेवालाई प्राथमिकता नदिएको भने होइन । तर पछिल्लो समय यसलाई थप ध्यान दिइरहेको चाँदनी बताउँछिन् । ‘पछिल्लो समय अझै बढी यसमा फोकस गरिरहेका छौं’ उनले भनिन् ।

घरबार चलाउन र आवश्यक पर्ने कामका लागि रकमको जोहोमा बैंकले मानिसहरुलाई सहज रुपमा कर्जा दिने गरेको छ । अहिले सञ्चालनमा रहेका सबैजसो बैंकले कर्जा दिइरहेका छन् । तर चाँदनी नबिलले ग्राहकलाई सहजता दिएको बताउँछिन् ।

‘कर्जा सबै बैंकले दिन्छन् नै’ उनले भनिन्, ‘तर, नबिल बैंक लक्षित समूहमा अझ सजिलै पुग्यो ।’

बैंकले कर्जा दिनुमात्र महत्वपूर्ण नभएको उनको बुझाइ छ । कर्जा पछि उक्त विषयको सहजीकरणमा पनि बैंकको भूमिका हुने र त्यसमा नबिलले काम गरिरहेको उनी बताउँछिन् ।

‘शैक्षिक धितोकर्ता बैंकहरुले दिँदै आएका छन् । कर्जा दिनु मात्रै ठूलो विषय भएन । तर, पढ्नका लागि विद्यार्थीले भोग्ने गरेका समस्या, त्यो समस्या समाधान गर्न हामीले कसरी सहजीकरण गर्न सक्छौं भन्ने पनि ध्यान दिनुपर्छ ।’

आफूहरुले राष्ट्र बैंकले जारी गर्ने निर्देशन, निर्देशिकाहरुलाई ध्यान दिइरहेको र त्यसको परिणाम राम्रो देखिएको उनको भनाइ छ ।

सस्टेनेबल हाउजिङ लोन

रिटेल लेण्डिङभित्र विभिन्न ६/७ वटा उपशीर्षकहरु रहेका हुन्छन् । त्यसमा पनि सबैभन्दा बढी चासो होम लोन, अटो लोन, एजुकेशन लोनमा हुने गरेको छ । अहिले मानिसमा घर बनाउन, जग्गा किन्नदेखि गाडीमा बढी चासो देखिएको श्रेष्ठको अनुभव छ।

‘गाडीमा पनि निजीलाई मात्रै कर्जा दिने हो की, सार्वजनिक बस, माइक्रो, ट्याक्सी, पर्यटक वा अन्य खाले सवारी साधानलाई कर्जा दिन्छ भन्ने निकै चासोको विषय रहेको छ’ उनले भनिन् ।

नबिलले आवास कर्जाका लागि सस्टेनेबल हाउजिङ लोन प्रवाह गर्ने गरेको छ । त्यस्तै नबिल ढुक्क घर कर्जा पनि सञ्चालनमा रहेको उनले जानकारी दिइन् । सहजै इएमआई तिर्न सकियोस् भनेर यस्तो योजना ल्याएको श्रेष्ठ बताउँछिन् । ८.९९ प्रतिशत ब्याजदरमा घर निर्माण र घर खरिदका लागि यो कर्जा दिने गरि यो योजना ल्याएको चाँदनी बताउँछिन् । ‘यसको ब्याजदर ७ वर्षसम्म एउटै हुन्छ । ८.९९ भन्दा ब्याजदर बढ्दैन । ७ वर्षपछि पनि यसको अवधि थपिन्छ’ उनले भनिन् ‘७ वर्षको मात्रै नभएको भए इएमआई धेरै पर्ने थियो । ३० वर्षको हुँदा केही सजह हुनेछ ।’

आकर्षणमा शैक्षिक धितोकर्जा

पछिल्लो समय विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नबिलले शैक्षित धितोकर्ताको योजना सञ्चालन गरिरहेको छ। सन् २००९ देखि सुरु भएको शैक्षित धितोकर्ता विदेश जानेहरुका लागिमात्र भने नभएको उनले बताइन् ।

यो धितोकर्जा सुरु गर्ने बेला २ वटा बैंकले मात्रै यसमा काम गरेका थिए । त्यो समयमा न्यूजिल्याण्ड र अष्ट्रेलियाका लागि शैक्षिक धितोकर्जा दिन थालिएको थियो ।

बैंकले दिने कर्जामा शैक्षिक धितोकर्जा लिन अन्य उपशीर्षकका कर्जाभन्दा सजिलो हुने र त्यसका लागि नबिल उत्तम विकल्प रहेको श्रेष्ठको भनाइ छ । ‘यसमा कर्जाको कहाँ प्रयोग हुन्छ भन्ने खुलेको हुन्छ’ उनले भनिन्, ‘यसमा केही समस्या नै छैन । राष्ट्र बैंकको नियमभित्र बसेर सहजै कर्जा लिनका लागि उत्तम विकल्प नबिल बैंक हो ।’

गाडी कर्जा

नबिल बैंकले निजी प्रयोजनका गाडी खरिद गर्नेहरुका लागि मात्रै नभएर व्यवसायीक प्रयोजनका गाडी खरिद गर्नेलाई पनि कर्जा दिन्छ । ट्याक्सी, माइक्रोबस, बस लगायतका सवारीको खरिदमा कर्जा दिइराखेको उनको भनाइ छ । ‘कतिपय मानसिको कमाइखाने भाँडो ट्याक्सी, गाडी हुन्छ । उहाँहरुको लागि सही गन्तव्य नबिल हुन्छ’ उनले भनिन् ।

अहिले नबिल बैंकले विद्युतीय सवारी साधानमा पनि लगानी गरेको श्रेष्ठले बताइन् । बैंकले ट्याक्सी, ११, १४ सिटको भ्यानमा लगानी गरेको छ । ‘बैंकमा आउने कतिपय ग्राहकले इन्धन गाडीलाई छोडेर विद्युतीयलाई रोज्नुभएको छ’ उनले भनिन् ‘त्यसमा बैंकले पनि प्राथमिकताका साथ काम गरिरहेको छ । सवारी साधनमा जाने कर्जाका लागि हाम्रो पुल्चोक शाखाबाट बढी काम हुने गरेको छ ।’

पछिल्लो समय विद्युतीय गाडीको कर्जामा माग बढेको उनको अनुभव छ । अहिले बैंकले सवारी साधनमा ६ वर्षका लागि कर्जा दिने गरेको छ । ‘६ वर्षपछि मात्रै बैंकको रिपेमेन्ट कस्तो हुन्छ भन्ने थाहा हुन्छ’ उनले भनिन्, ‘विद्युतीय सवारीले अर्थतन्त्रमा टेवा पुग्ने भएका कारण पनि बढी प्राथमिकतामा राखेको हौं ।’

रिटेल लेण्डिङमा कति जोखिम ?

अन्य कर्जाको तुलनामा यसमा चुनौती वा जोखिम कम भएको उनलाई लाग्छ । रिटेल लेण्डिङमा लोनको साइज १० लाखदेखि २ करोडसम्म जान्छ । सानो आकारमा जाने भएर यसमा जोखिम कम देखिने उनी बताउँछिन् । रिटेल लेण्डिङमा धेरै उपशीर्षकमा कर्जा जाने भएकाले त्यसले केही फरक पार्ने उनी बताउँछिन्।

‘कुन कम रिक्स हो, कुन बढी हो भनेर रिक्स वेटेजको हिसाबले पनि यसमा फरक पर्छ’ उनले भनिन् ।

कोरोनापछि थप मजबुत

पहिलादेखि नै नबिल बैंकले रिटेललाई प्राथमिकता दिइरहेको थियो । कोरोना महामारीपछि भने नबिलले रिटेल लेण्डिङका प्रडक्टहरुमा केही परवर्तन गर्‍यो । त्यसपछि भने यो क्षेत्र थप मजबुत भएको उनी बताउँछिन् । ‘कोरोना महामारीपछि हामीले रिटेल लेण्डिङका लागि ल्याउने प्रडक्टहरुमा केही परिवर्तन गर्यौं’ उनले भनिन्, ‘त्यसको लागत, ब्याज, प्रोसेसिङ सबैलाई हेर्यौं र अघि बढ्यौं जसले हामीलाई थप मजबुत बनायो ।

डेढ वर्षजति अघि नबिल र एनबि बैंक मर्ज भए । मर्ज भएपछि शाखाहरुको संख्या बढ्यो । शाखा बढ्दा धेरै मानिसमा नबिलको पहुँच पुग्यो । पहिला कम शाखाबाट प्रवाह हुने कर्जा अहिले धेरै शाखाबाट भइरहेको छ । जसले गर्दा पनि रिटेल लेण्डिङमा सहयोग पुगेको उनको बुझाइ छ ।

‘अहिले २६६ वटा शाखाबाट कारोबार भइरहेको छ । शाखा बढ्दा धेरै मानिसमा बैंकको सेवा पुग्यो । कर्जा दिने बैंकको शाखा बढ्यो । पहिला थोरै शाखाबाट जाने गरेको कर्जा अहिले धेरै शाखाबाट जाने भयो’ उनले भनिन् ।

यसका लागि बैंकले ल्याएको स्किमको थप भूमिका रहेको उनी बताउँछिन् । ‘ऋणीलाई दिइने सही जानकारी, बैंकले ल्याउने नयाँ नयाँ योजना र सबैको साथ सहयोगको परिणाम अहिले देखिएको हो’ प्रशन्न मुद्रामा उनी भन्छिन् ।

ऋणीलाई सुझाव

नेपाली समाजमा चलिआएको उखान छ- घाँटी हेरी हाड निल्नू’ । त्यसलाई ध्यान नदिँदा पछिल्लो समय कतिपय ऋणमा डुब्ने गरेका छन्। त्यसैले चाँदनी ऋणीलाई कर्जा लिनुपूर्व आफ्नो क्षमता हेर्न सुझाव दिन्छिन् ।

ऋण लिएपछि तिर्नुको विकल्प छैन ।

त्यसैले त्यसरी लिइएको ऋण कहाँ र कसरी खर्च गर्ने र त्यसबाट कस्तो प्रतिफल आउँछ भन्ने कुराको योजना बनाउन आवश्यक छ । लिएको ऋण कसरी तिर्ने र कतिसम्म किस्ता भयो भने धान्न सकिन्छ जस्ता कुराहरुमा ऋणीले पहिल्यै ध्यान दिन आवश्यक छ ।

‘कति ऋण लिने, कहाँ खर्च गर्ने, खर्च गरेबापत त्यसबाट प्रतिफल कस्तो आउँछ, कति समयमा आउँछ, कहिलेसम्म कर्जा तिरी सक्ने, कतिसम्म किस्ता भयो भने धान्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ’ ऋणीलाई उनको सुझाव छ ।

त्यसमा पनि कहिले कहीँ ब्याजदरमा हुने तलमाथिलाई समेत पूर्वअनुमान गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ । कतिसम्म बढी ब्याजदर भयो भने धान्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्ने उनको सुझाव छ । त्यसका लागि बैंकमा गएर बु्झ्न सकिने उनी बताउँछिन् ।

‘कर्जा लिएपछि आधारदरका कारण ब्याजदर तलमाथि हुनसक्छ । त्यो तलमाथि कतिसम्म हुँदा धान्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि बैंकमा नै आएर पनि बुझ्न सकिन्छ,’ उनले थपिन्, ‘१०० रुपैयाँको इलेक्ट्रिक गाडी लियो भने बैंकले ८० रुपैयाँसम्म लगानी गर्न सक्छ । त्यसो भन्दै गर्दा आफूले २० रुपैयाँ मात्रै लगानी गर्नुपर्छ भन्ने छैन । ३०/३५ रुपैयाँ पनि लगानी गर्दा हुन्छ । त्यो भयो भने लाभ ऋणीलाई नै हो । त्यसका बारेमा ध्यान दिनुपर्छ ।’

ऋण लिएपछि त्यसलाई कसरी चाँडो सक्ने भन्ने गरि काममा लाग्नु पर्ने उनी बताउँछिन् । बैंकबाट प्रवाह हुने बैंक र त्यसबारेका जानकारीका लागि नबिल बैंकले सहयोग गर्ने उनको भनाइ छ ।


क्लिकमान्डु