एमसीएले सुरु गर्‍यो काम: बुटबल-गोरखपुर विद्युत प्रसारण लाइन अघि बढ्ने



काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले १८ किलोमिटर लामो बुटबल–गोरखपुर विद्युत प्रसारण लाइन खण्डलाई छुट्याएर अघि बढाउने निर्णय गरेको छ ।

एमसीए नेपालको ४० औं बैठकले विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर लामो प्रसारण लाइन सञ्जालमध्ये १८ किलोमिटर खण्डको निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो ।

बैठकले बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्न डिजाइन बिल्ड निर्माण कम्पनीहरुको सेवा खरिदका लागि एमसीए नेपालले काम अगाडि बढाइएको जानकारी दिएको छ ।

सीमापार खण्डसम्बन्धी कामलाई द्रुतगतिमा सम्पन्न गर्न नेपाल र भारतबीचको सीमापार उर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

‘सरकार र नेपाल विद्युत् प्राधिकरणको लागि यो खण्डको गम्भीरतालाई ध्यानमा राख्दै एमसिए–नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो । यो खण्डलाई वृहत प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ जेठभित्रै सम्पन्न हुने सुनिश्चित हुनेछ,’ बैठकमा सहभागी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिब नविनराज सिंहले बताए ।

यो सीमापार प्रसारण लाइन विद्युत प्रसारण आयोजनाको महत्वपूर्ण अंग हो । यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत व्यापारलाई सहजीकरण गर्ने एमसीए नेपालले जनाएको छ ।

नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण गर्नका लागि २०७६ असोजमा वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच सहमति भएको थियो ।


क्लिकमान्डु