स्थानीयको अवरोधले धकेलियो नागढुङ्गा सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’, अब कहिले ?



काठमाडौं । स्थानीय बासिन्दाको आन्दोलनका कारण निर्धारित समयमा हुने भनिएको नागढुङ्गा सुरुङ्गमार्गको अन्तिममा ‘ब्रेक थ्रु’ रोकिएको छ ।

नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाले २ हजार ६ सय ८८ मिटर मूल सुरुङ्गमार्गको खन्ने काम बुधबार सम्पन्न गरी अन्तिम ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य राखेको थियो । स्थानीय बासिन्दाले फागुन ६ गतेदेखि विभिन्न माग राखेर आन्दोलन गरेका कारण उक्त सुरुङ्गमार्गको निर्माण कार्य त्यो दिनदेखि पूर्णरुपमा ठप्प भएको छ ।

आयोजनाका उपनिर्देशक गोविन्द दुमरुका अनुसार कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ्ग मार्गमध्ये हालसम्म २ हजार ६ सय ७४ मिटर खन्ने काम सम्पन्न भइसकेको थियो । फागुन २२ गतेसम्मभित्रमा खन्न बाँकी रहेको जम्मा १४ मिटर खनेर २३ गते ब्रेक थ्रु गर्ने निर्धारण गरिएको थियो । स्थानीयको आन्दोलनका कारण १४ मिटर खन्ने काम पनि अवरुद्ध भएको छ ।

‘अवरोध नआएको भए मंगलबारसम्म १४ मिटर दूरीबराबर सुरुङ्गमार्ग खन्ने काम सम्पन्न भइसकेको हुन्थ्यो,’ क्लिकमान्डुसँग दुमरुले भने।

सुरुङ्गमार्ग अन्तर्गत आपतकालिन उद्दारमा प्रयोग हुने २ हजार ५ सय ५७ मिटर लामो सहायक सुरुङ्गमार्ग (इभाक्युसन टनेल) को सन् २०२३ को अगस्त ७ तारिखमा ब्रेक थ्रु भएको थियो ।

आन्दोलनका कारण निर्माण कार्य नै ठप्प भएपछि तोकिएको समयमा उक्त सुरुङ्गमार्गको अन्तिम ‘ब्रेक थ्रु’ गर्ने काम पनि अवरुद्ध भएको हो । स्थानीयबासीको अवरोधका कारण यो आयोजनाले अहिले दैनिक करिब १ करोड रुपैयाँबराबरको नोक्सानी व्यहोरिरहेको आयोजनाले जनाएको छ ।

स्थानीयको अवरोधका कारण निर्माणकर्ता कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले आफुहरुले दैनिक १ करोड रुपैयाँबराबरको क्षति व्यहोरिरहेको भन्दै घुमाउरो रुपमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लविङ्गसमेत गर्न लागेको आयोजनाको भनाइ छ ।

स्थानीयबासिन्दाको आन्दोलनका कारण अन्तिम सुरुङ्गमार्गको काममात्रै रोकिएको छैन, त्यो सम्बन्धित ३ सय मिटरमा गर्ने भनिएको लाइनिङ्ग कंक्रिट फिनिसिङ्ग, फ्लाई ओभरको निर्माण, सडक कालोपत्रे, पश्चिमतर्फ रहेको ल्याण्ड स्लाइड नियन्त्रण, भेन्टिलेसन, नली, बाटो, बत्तीलगायतका सम्पूर्ण काम नै अवरुद्ध भएको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले क्लिकमान्डुलाई बताए ।

समयमै सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु हुन नपाउँदा अब यस्ता कामका लागि थप १० महिना जति लाग्ने आयोजनाले जनाएको छ । हालसम्म इभाक्युसन टनेल, वर्किङ्ग अडिट, क्रस प्यासेजको काम शतप्रतिशत सम्पन्न भएको छ । यस्तै लक्ष्यअनुसार ३ वटा अन्डरपास, ४ वटा वक्स कल्भर्ट, १ ओभरपास, ३ ब्रीजको निर्माण सम्पन्न भइसकेको छ । एउटा रहेको फ्लाईओभरको काम निर्माणको क्रममा छ ।

‘आन्दोलनका कारण काम अवरुद्ध नभएको भए आज (बुधबार) हाम्रो अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम थियो,’ दुमरुले भने,‘हामीले निर्धारित समयमा ब्रेक थ्रु गर्ने भनेर द्रुतगतिमा काम गर्दा गर्दै पनि स्थानीयको अवरोधका कारण चाहेर पनि गर्न सकेनौं । अब फेरी केही समयको लागि ब्रेक थ्रु (छेड्ने) काम पर धकिलिएको छ ।’

सन् २०१९ सेप्टेम्वर २३ मा जापानको हाजमा एण्डो कर्पोरेशनसँग भएको सम्झौताअनुसार निर्माण सुरु भएको ४२ महिनामा यसको निर्माण सम्पन्न हुनुपर्ने थियो । त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

स्थानीयबासिन्दाले सुरुङ्गमार्ग निर्माण क्षेत्रमा असर परेकाले उक्त क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, डिप बोरिङ्गसहितको पर्याप्त परिमाणमा खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, चर्केका घरहरुको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सुरुङ्गमार्ग माथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र प्रभावित क्षेत्रको बासिन्दालाई रोजगारीको सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेर फागुन ६ गतेदेखि निर्माण स्थलमा आन्दोलन गरिरहेका छन् ।

उनीहरुले नागढुङ्गा सिस्नेखोला सुरुङ्ग मार्ग प्रभावित खानेपानी उपभोक्ता समिति गठन गरेका छन् । उनीहरुले निर्माणस्थलमा दैनिकजसो आन्दोलन तथा धर्नाका कार्यक्रम सञ्चालन गर्दैआएका छन् ।

यस्तै अवरोधका कारण अवरुद्ध भएको लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम अहिलेसम्म ३ सय ४० मिटर सम्पन्न हुनुपर्ने थियो । दैनिक २० मिटरका दरले १७ दिनमा यो परिमाण हाराहारीमा उक्त लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम सम्पन्न हुनुपर्ने थियो ।

आयोजनाका अनुसार धुनिवेशी नगरपालिकातर्फ पश्चिमतर्फ ठूलो ल्याण्ड स्लाइडको जोखिम छ । यो समस्या बर्षायाम अगावै समाधान गर्नुपर्ने थियो । तर आन्दोलनका कारण यो काम पनि अवरुद्ध भएको छ ।

‘हाम्रो विभागसँग सरोकार राख्ने बिषयमा समाधानका लागि पहल गर्न सक्छौं,’ डुमरुले भने,‘तर हामीसँग सरोकार नभएका बिषयबस्तुलाई कसरी सम्बोधन गर्न सक्छौं ?’

आयोजनाका अनुसार विभिन्न माग राखेर स्थानीयले फागुन ६ गतेदेखि आन्दोलन र धर्ना दिएका कारण काम अवरुद्ध भएपछि पछिल्लो समयमा उच्चस्तरीय रुपमा ३ पटकसम्म छलफल भएपनि समस्या समधान भएको छैन ।

फागुन ८ गते सडक विभागमा विभागीयस्तरीय, फागुन १६ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको उपस्थितिमा मन्त्रालयस्तरीय र फागुन १७ मा मन्त्रालयको सचिब केशबकुमार शर्माको उपस्थितिमा छलफल भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब शर्माले स्थानीयको आन्दोलनका कारण निर्धारित समयमा गर्ने भनिएको अन्तिम ब्रेक थ्रुको काम अवरुद्ध भएको जानकारी दिए ।

‘हाम्रो बिडम्बना छ, निर्धारित समयमा अन्तिम ब्रेक थ्रुको काम गर्न सकेनौं,’ शर्माले क्लिकमाण्डुसँग भने,‘हाम्रो मन्त्रालयस्तरभन्दा बाहिरको माग आन्दोलनकारीबाट आएको छ । त्यो माग हामी सम्बोधन गर्न सक्ने अवस्थामा छैनौं । माग सम्बोधन हुन नसक्दा फागुन पहिलो सातादेखि सुरुङ्गमार्गको काम पूर्णरुपमा ठप्प भएको छ ।’

उनका अनुसार स्थानीयले उठाएको माग प्रधानमन्त्रीस्तरबाटै सम्बोधन गर्नुपर्ने अवस्था छ । यहिबेला विभागीय मन्त्री रिक्त भएको कारण यो बिषयमा आवश्यक पहलका निम्ति प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको उनले बताए ।

आयोजनाका अनुसार यसअघि पनि स्थानीय बासिन्दाको अवरोधका कारण केही महिना उक्त आयोजनाको काम अवरुद्ध भएको थियो । सुरुङ्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घरहरु चर्किएको छ । स्टोटलमाथि खाल्डो सिंक होलसमेत भएको छ ।

सुरुङ्गमार्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घर चर्केकाले प्रभावित भएका घर, कृषि योग्य जग्गा, पानीको श्रोत सुकेको र सिंचाई सुविधासमेत बन्द हुँदा स्थानीयबासीको कृषि कर्म पनि रोकिएको छ । यो बिषयलाई उठाउँदै स्थानीय बासिन्दाले आन्दोलन गर्दैआएका हुन् । हालसम्म ९३ वटा घर चर्केको अवस्थामा भेटिएका छन् । थप केही संख्यामा पनि घरहरु चर्केका छन् ।

यस्ता बिषयमा अहिले परामर्शदाताको सहयोगमा जिओ टेक्नीकल्ली स्टडीसमेत सुरु भइसकेको बताउँदै आयोजनाका उपनिर्देशक दुमरुले भने,‘यो अध्ययन सकेपछि कुन क्षेत्रमा के कस्तो आर्थिक प्रभाव परेको छ भनेर यकिन जानकारी प्राप्त हुन्छ, अहिले नै यसै के कस्तो प्रभाव पारेको छ भनेर भन्न सक्ने अवस्था छैन् ।’

यो अध्ययनको प्रतिवेदन आउन अझै २ महिना लाग्ने आयोजनाले जनाएको छ । सुरुङ्गमार्ग खनिएको स्थान वरिपरी घर बनाएर बस्न लायक छ वा छैन भनेर पनि अध्ययन भइरहेको छ ।

स्थानीयबासिले उठाएका प्रमुख मागहरुमध्ये खानेपानी उपलब्धताको लागि वोरिङ्ग गरेर खानेपानी निःशुल्क रुपमा उपलब्ध गराइएको आयोजनाले जनाएको छ ।

अहिले तेश्रो वोरिङ्ग पनि जडान गर्न लागिएको छ । यस्तै चर्केको घर र जग्गा मुआब्जासम्बन्धी समस्या पनि अध्ययन टोलीले दिने प्रतिवेदनको आधारमा समाधान गर्ने जनाएको छ ।

आन्दोलनकारीले सधैको लागि निःशुल्क खानेपानीको व्यवस्था तथा सिंचाई सुविधालगायतको प्रमुख मागका कारण सुरुङ्ग मार्गको काम प्रभावित भएको हो । आयोजनाले खानेपानी उपलब्ध गराउन ३ सय मिटरसम्म खनेर पानी निकाल्ने सहमति गरेको र त्यो अनुसार काम पनि भइरहको जनाएको छ ।

स्थानीय पीडित बासिन्दाले खानेपानीको व्यवस्थापन गर्दा हुने खर्चको व्यवस्थापन दीर्घकालिन समयसम्म आयोजनाले नै व्यहोर्नुपर्ने माग अघि सारेका छन् ।

आयोजनाले भने खानेपानी व्यवस्थापनको बिषयमा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ सँग सम्झौता गरेको छ । जसअनुसार खानेपानी समस्याको समाधान दीर्घकालिन रुपमा उक्त नगरपालिकाले गर्ने सम्झौतामा उल्लेख भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाले माघसम्ममा ७२ प्रतिशत भौतिक प्रगति र ६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विभिन्न अवरोधका कारण म्याद थपपछि अहिले निर्माण सम्पन्न गर्ने अवधी २०२४ अप्रिल २५ तारिख तोकिएको छ ।

२ हजार ६ सय ८८ मिटर लम्बाई भएको यो सुरुङ्गमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ । यो मार्गमा आपतकालिन उद्दार प्रणालीसमेत निर्माण हुनेछ ।


राजेश बर्मा