शालीनले नै सुसाइड नोट लेखेको फरेन्सिक ल्याबको परीक्षणबाट पुष्टि



काठमाडौं । चितवनमा विद्यालयको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको सुसाइड नोट उनलेनै लेखेको पुष्टि भएको छ ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा उनी मृत भेटिएकी थिइन् ।

अन्य दुईजना साथीहरु पनि बस्ने होस्टेलको कोठामा रहेको फ्यानमा झुन्डिनुअघि शालीनले लेखेको भनिएको ‘सुसाइड नोट’ उनकै भएको नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट पुष्टि भएको हो ।

उनले आफूले बुवा आमालाई याद गर्ने भन्दै नोटमा ‘आईएम सरी!’ लेखेकी थिइन् ।

‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’ आत्महत्याअघि लेखेको सुसाइड नोटमा लेखिएको छ ।

प्रहरीले सुसाइड नोट फेला पारेसँगै प्रारम्भिक रुपमा उनको अक्षरसँग उक्त कागजलाई भिडाएको थियो । त्यसक्रमा प्रहरी सुसाइड नोट उनलेनै लेखेको निष्कर्षमा पुगेको थियो ।

त्यसपछि सुसाइड नोटलाई परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । त्यसक्रममा नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणमा सुसाइड नोट उनकै भएको पुष्टि भएको छ ।

शालीन पोखरेलको शवको पशुपति आर्यघाटमा मंगलबार अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो । शालीनका बुवा काठमाडौं र आमा पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी छन् ।

केही समयदेखि होस्टलमा बस्दै आएकी शालीनको हत्या भएको दाबी उनका बुवाले गरेका थिए भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि उनको न्यायको लागि भन्दै दबाब दिएका थिए । उनको बलात्कारपछि हत्या भएको दाबी उनका बुवाको थियो ।

तर त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युका कारण बलात्कारपछि हत्या नभएको पाइएको थियो।

यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।


क्लिकमान्डु