प्रकाशशरण महतलाई प्रश्न: तपाईंका कारण गठबन्धन भत्किएको हो ? (अन्तर्वार्ता)



प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रे‍स नेतृत्वको गठबन्धन छाडेर एमालेसहितका दलहरुसँग नयाँ गठबन्धन गरे । पछिल्लो २४ घण्टामा तिव्ररुपमा विकास भएको राजनीतिक घटनाक्रमसँगै नयाँ गठबन्धन दल सहभागी गराएर उनले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । एमाले माओवादी र रास्वपाका तीन जनाले मन्त्रीको सपथ लिएका छन् ।

प्रधानमन्त्रील‍े गठबन्धन फेर्नाको मुख्य कारण अर्थमन्त्रीसँगको बिग्रिएको सम्बन्ध भएको दाबी उनको दलका नेताले गरेका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतलाई कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै च्याप्दा गठबन्धन धरापमा परेको संस्थापन इतरपक्षको आरोप छ । प्रधानमन्त्रीले भनेका कतिपय योजनामा बजेट विनियोजन नगरेको लगायतका कारण अर्थमन्त्रीसँग प्रचण्ड रुष्ट थिए ।

के समाचारहरुमा भनिएजस्तै डा महतकै कारण गठबन्धन धरापमा परेर प्रचण्ड एमाले लगायतका दलहरुसँग नजिकिएका हुन् त ? यसविषयमा क्लिकमान्डुकर्मी शरद ओझाले कांग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा महतसँग कुराकानी गरेका छन्:

पाँच वर्षभन्दा लामो समय माओवादीसँगको गठबन्धन टिक्छ भन्दै नेताहरुले भनिरहँदा एकाएक गठबन्धन किन भत्कियो ?

माओवादीका साथीहरुले केही समय अघिदेखि नै वामगठबन्धनको प्रयास गरिरहनु भएको थियो । नयाँ गठबन्धनका लागि एकाएक भएको सहमति यो होइन । भन्नका लागि नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावका लागि गठबन्धन नगर्ने र राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशको परिणाम र माओवादीलाई हेर्ने दृष्टिकोणलाई कारण बनाए पनि यो उहाँहरुले पहिला देखिनै गरेको प्रयासको रुप हो।

कांग्रेससँगको माओवादी गठबन्धन टुट्नुमा तपाईंले प्रधानमन्त्रीलाई असहयोग गरेको आरोप लागेको छ, के तपाईंले असहयोग गर्नु भएको हो ?

भन्नेले त जे पनि भन्न मिल्छ । गठबन्धन छोड्ने भएपछि जबरजस्ती भए पनि अरुको गल्ती देखाउने काम भएको छ । मैले कानुन अनुसार काम गरेको हो । अब कानुनले गर्न नमिल्ने काम त गर्ने कुरा भएन नि ! होइन ?

तपाईंहरु अब नयाँ गठबन्धन बनाउन लाग्नुहुन्छ ?

हामी अहिले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरिरहेका छौं र विकसित अवस्थालाई समीक्षा गरिरहेका छौं । उहाँहरुले बहुमत पुर्‍‍याएरै गठबन्धन बनाउनु भएको होला । आगामी दिनमा कसरी अघि बढ्ने भनेर पार्टीमा छलफल हुन्छ । भोलि कार्यसम्पादन समितिको बैठक बस्दै छ । त्यो बैठकले उपयुक्त निर्णय गर्छ ।

केही समयअघिबाटै प्रचण्ड र केपी ओलीको भेटघाट बाक्लिएको र गठबन्धनमा समस्या आइरहेको खबरहरु बाहिरिएका थिए । के तपाईंहरुले गठबन्धन भत्किन लागेको थाहा नपाउनु भएको हो ?

होइन, होइन । गठबन्धन भत्किन लागेको थाहा नभएको होइन । उहाँहरुको लामो सयमदेखिको तयारी नै यस्तो यस्तो भएपछि केही हुनेवाला थिएन ।

अब गठबन्धन नै अर्को बनेपछि राजीनामा दिनुहुन्छ कि हुँदैन ?

पार्टीले राजीनामा नदिने निर्णय गरेको छ । नयाँ गठबन्धन बनिसकेको छ । प्रधानमन्त्रीले उपयुक्त कदम चाल्नु होला नि !


शरद ओझा