हिमाल वाटर पार्क भिलेज होटलको व्यापार ६८ प्रतितशले बढ्यो



काठमाडौं । सुनिलकुमार खेतानको हिमाल वाटर पार्क भिलेज होटल प्रालिको व्यापारमा उछाल आएको छ । कोभिडपछि आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्दा वीरगञ्जमा रहेको चार तारे हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिको व्यापारमा उछाल आएको हो ।

कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा ६८ प्रतिशतले बढेको छ । होटलले सन् २०२२ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२१ को डिसेम्बरबाट सञ्चालनमा आएको होटल ११ हजार ५५१.५३ स्क्वारफिट क्षेत्रफलमा फैलिएको छ । होटलमा ६३ वटा कोठाको सुविधा छ ।

दुई वर्ष अघिदेखि सञ्चालनमा आएको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोढ ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ८३ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

होटलले मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स र प्रदर्शनीबाट ५६ प्रतिशत आम्दानी गरेको छ भने २६ प्रतिशत कोठाको सुविधाबाट गरेको जनाएको छ । सन् २०२३ मा ३७.२२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा १२.८७ प्रतिशत नाफा कमाएको थियो।

त्यस्तै, होटल आगामी जुलाईबाट पूर्ण क्षमतामा सञ्चालनमा आउने अनुमान गरेको छ ।

होटलमा आधुनिक सुविधा, क्यासिनो, फुड र वेभरेज सेवा, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल र अन्य सुविधा छ । होटलको व्यवस्थापन गर्नका लागि क्लार्क रिसोर्टसँग सम्झौता गरेको छ । विश्वभर १५ सय ८९ वटा होटल भएको क्लार्क ग्रुप अफ होटल, क्लार्क रिसोर्टसँग सम्झौता गरेर होटल सञ्चालन गरिरहेको होटलले जनाएको छ ।


क्लिकमान्डु