फुटपाथ व्यापारीमाथि महानगरको लट्ठी: संसद्‍देखि सामाजिक सञ्जालसम्म आलोचना



काठमाडौं । गत बुधबार साँझ फुटपाथ व्यवसायीमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गरेको ज्यादतीको सदनदेखि सामाजिक सञ्जालसम्म बिरोध भइरहेको छ ।

बुधबार सुन्धारामा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप भएको थियो । उक्त घटनामा ११ जना घाइते भएका थिए ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उपरीक्षक मनोज लामिछानेसहित ९ जना नगर प्रहरी घाइते भएको भएको दाबी गरेका थिए । आधा दर्जनभन्दा धेरै फुटपाथ व्यवसायीमाथि महानगरले बर्बरता देखाएको थियो । कतिपय फुटपाथ व्यवसायीको पाखुरा, ढाड र टाउकोमा नगर प्रहरीले गरेको प्रहारका कारण चोट लागेको थियो । कटाइ खाए व्यापारीले महानगर प्रहरीले बर्बतापूर्ण आक्रमण गरेको आरोप लगाएका छन् ।

महानगर प्रहरीले फुटपाथ व्यापारीमाथि देखाएको यस्तो हर्कतको चर्को बिरोध भइरहेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)र उनी नेतृत्वको महानगरले चालेको कदमलाई आलोचना गरिएको छ ।

सोही विषयले शुक्रबार संसदमा चर्चा पाएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं संघीय राजधानी भएको र यहाँ देशका हरेक क्षेत्र र वर्गका मानिसहरुले बस्न र व्यवसाय गर्न पाउने अधिकार रहेको बताएका थिए । उनले महानगरले त्यसलाई व्यवस्थित गर्नुको सट्टा टाउकोमा लट्ठी बजार्नु न्याय संगत नभएको बताए ।

‘महानगरका मेयरको दम्भ बढेको छ । यहाँ तल्लो वर्गका मान्छे बस्न नपाउने? महानगर व्यवस्थति गर्न नसक्ने, विकासको एउटा सिन्को नभाँच्ने तर कहिले फुटपाथको व्यापारीको टाउको फुटाउने, कहिले कवाडीलाई त्रसित बनाउने?’ संसदमा उनले भने ।

मधेशका सडक व्यवसायीका कारण काठमाडौंमा बस्नेहरुले फलफुल र तरकारी खान पाइरहेको उनको भनाइ छ। व्यवसाय गर्नेहरुले कर तिरिरहेको र कर तिर्नेहरुमाथि राज्यले ज्यादति गर्न नमिल्ने उनले बताए । नेपाल हरेक नेपालीको देश भएको भन्दै सिंहले राजधानी कुनै मेयरले बनाएको नभएको बताएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र प्रसाद पाण्डेले पनि महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको बिरोध गरेका छन् । उनले यसमा संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने पनि बताए ।

फुटपाथ व्यवसायीमाथि महानगर प्रहरीले गरेको व्यवहार निन्दनीय भएको भन्दै उनले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । ‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनिय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता पर्यो भने हस्तक्षेप गरोस्’ उनले भने ।

त्यस्तै अर्का सांसद प्रभु साहले पनि बालेनको कदमको आलोचना गरे । आम जनता पार्टी (आजपा)का अध्यक्ष साहले काठमाडौंमा महानगरपालिकाको आतंक चलिरहेको आरोप लगाए। महानगरमाथि नियमन गर्न उनले संघीय सरकारलाई आग्रह गरे ।

‘काठमाडौंमा महानगरको आतंक चलेको छ । रोडमा स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडीहरुमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ’ साहले भने, ‘महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? यदि लाग्छ भने सरकारले महानगरमाथि नियमन गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

हरेक व्यक्तिले व्यापार व्यवसाय गर्न पाउने हक रहेको र त्यसको रक्षा राज्यले गर्नुपर्ने बताए । कवाडी संकलन गर्नेहरुमाथि पनि महानगरले बर्बर्ता देखाएको उनको आरोप छ ।

‘महानगरपालिकाले मनोमानी ढंगले, गैर कानुनी ढंगले कवाड व्यावसायीहरुलाई आतंकित गराएको छ, बेदख्खल गर्न कोसिस भइरहेको छ । जबरजस्ती गरेर भगाउने काम भइरहेको छ’शाहले भने ।

बालेननेतृत्व आउनुअघिको तुलनामा उनको नेतृत्व आएपछि फुटपाथ व्यवसायीहरुमाथि महानगरको नगर प्रहरी निरन्तर निरंकुश रुपमा प्रस्तुत हुँदै आएको आरोप लाग्ने गरेको छ ।

विगतमा पनि फुटपाथ व्यवसायीहरुलाई लछारपछार गरेको, कुटपिट गरेको, दौडाएर उनीहरुको सामान जफत गरेको जस्ता भिडियोहरु सार्वजनिक भएका छन् ।

महानगरको नगर प्रहरीको यस्तो व्यवहारको विषयलाई लिएर निरन्तर बिरोध हुँदै आएको छ । केही समयअघि महानगरलाई ध्यानाकर्षण गराउँदै अभियन्ता ईःले महानगरअघि निरन्तर उभिएर फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग पनि गरेका थिए । महानगरले उनीसँग सम्झौता गरेको थियो । तर, उक्त सम्झौताअनुरुप महानगरले फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि भने केही पनि गरेको छैन । महानगर स्रोतकाअनुसार उक्त सम्झौतामा उल्लेख भएका बुँदाहरुको कार्यान्वयन हुन सकेको छैन ।

महानगरको नगर प्रहरीले फुटपाथ व्यवसायीहरुमाथि यस्तो ज्यादति गरिरहँदा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले पनि यसको बिरोध गरेको छ । नगर प्रहरीले महिला व्यापारीमाथि जथाभावी हातपात गरेकोदेखि सामान बेचेर छाक छार्नेहरुलाई फुटपाथको विकल्पमा पनि महानगरले कुनै अर्को ठाउँ नदिएको भन्दै संघले बिरोध गरेको छ ।

यता काठमाडौं महानगरपालिकाले भने गत बुधबार घटना हुनुमा फुटपाथ व्यवसायी दोषी रहेको दाबी गरेको छ । महानगर प्रहरीमाथ ढुंगा प्रहार गरेपछि प्रतिरक्षामा उत्रिएको उनको भनाइ छ ।

महानगरका नगरप्रहरी प्रमुख पाण्डले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको र त्यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘कसैमाथि दमन गर्ने वा धरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’


क्लिकमान्डु