बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गराउने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

मालपोतले जग्गा फिर्ताको प्रकृया अघि बढाउने भएसँगै कार्यालयले सीजी चाँदबागका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको थियो । अध्यक्ष ठाकुर बुधबार डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भएका थिए ।

मालपोतले जग्गा फिर्ताको प्रकृया थालेपछि उक्त प्रक्रिया रोक्न माग गर्दै चौधरी ग्रुप सर्वोच्च अदालतल पुगेको थियो ।

डिल्लीबजार मालपोत कार्याललेले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएपछि चौधरी ग्रुप अदालत पुगेको थियो ।

साबिक च्याम्पियन फुटवेयर प्रालि तथा अहिलेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले उत्प्रेषणको आदेशबाट सरकारले अघि बढाएका प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

गत १३ गते दर्ता भएको रिटको सुनुवाइ १४ गते भएको थियो । इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफलका दुवै पक्षलाई बिहीबार बोलाएको थियो । बिहीबार मुद्दा हेर्दा हेर्दैमा परेपछि शुक्रबारका लागि पेसीमा चढेको थियो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले जग्गा फिर्ता सम्बन्धी निर्णय फाइल झिकाउन आदेश दिएको हो । रिटमा अन्तरिम आदेश माग गरिएको थियो ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका थिए ।


क्लिकमान्डु