शंकर ग्रुपको जगदम्बा अटोको व्यापार २०%ले घट्यो, ऋणका लागि १ अर्ब ६० करोडको रेटिङ



काठमाडौं । शंकर ग्रुपको स्वामित्वमा रहेको जगदम्बा अटो ग्रुपको व्यापारमा कमी आएको छ ।

सन् २०२१ मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ३६८.१६ प्रतिशतले धेरै व्यापार गरेको थियो । सन् २०२२ मा ह्वात्तै वृद्धि भएको कम्पनीको व्यापारमा २०२३ मा अघिल्लो वर्षको तुलनामा संकुचन आएको छ ।

सन् २०२३ मा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा २०.१३ प्रतिशतले घटेको हो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा ६९ करोडको कमी आउँदै २ अर्ब ७३ करोड ७० लाखको भएको छ।

सन् २०१४ मा सुरु भएको जगदम्बा अटो ग्रुप गाडीहरुको बिक्री वितरण तथा एजेम्बल गर्ने उद्देश्यका साथ सुरु भएको कम्पनी हो । कम्पनीले सन् २०२१ मा २ पांग्रे तथा तीन पांग्रे सवारी साधनको एसेम्लीका लागि कारखाना सुरु गरेको छ ।

कम्पनीको व्यापार सन् २०२३ मा कम भइरहँदा यसको एबिट्डा मार्जिनमा भने वृद्धि भएको छ । सन् २०२१ मा ऋणात्मक रहेको मार्जिन सन् २०२२ मा ५.२९ प्रतिशत रहेको थियो । सन् २०२३ मा भने यसमा वृद्धि भएर ८.१६ प्रतिशत कायम भएको छ।

कम्पनीको स्वामित्व शंकर ग्रुपका शाहिल अग्रवालसँग रहेको छ । जगदम्बा अटो ग्रुपले जगदम्बा मोटर्ससँग मिलेर काम गरिरहेको छ ।

जगदम्बा अटो ग्रुपले टिभिएस मोटर्सको सवारी साधन तथा पार्टसहरु आयात गर्ने र त्यहि सामानहरु शंकर ग्रुपकै अर्को कम्पनी जगदम्बा मोटर्सलाई बेच्ने गरेको छ । जगदम्बा अटो ग्रुपको एकमात्र उपभोक्ता शंकर ग्रुपकै जगदम्बा मोटर्स रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

कम्पनीले टिभिएस मोटर्स ब्राण्डका दुई पांग्रे र चार पांग्रे आयात गर्नुका साथै सन् २०२१ मा सुरु भएको आफ्नो एसेम्ब्ली प्लान्टबाट उत्पादन पनि गरिरहेको छ । कम्पनीले गत वर्ष १४ दुई पांग्रे र २ वटा तीन पांग्रे सवारी साधनको एसेम्ब्ली पनि गरेको थियो ।

जगदम्बा अटो ग्रुपको एसेम्ब्ली प्लान्ट बारामा वीरगञ्ज भन्सारभन्दा २४ किमि टाढा रहेको छ ।

कम्पनीको कारोबार रकममा कमी आउँदा यसको कर्जा सुविधाको क्षमतामा पनि कमी आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई हाल १ अर्ब ६० करोड २५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ दिएको छ ।

यसअघि दीर्घकालीन कर्जा सुविधामा २ करोड ८८ लाख रुपैयाँको रेटिङ दिइएकोमा हाल बढाएर ४३ करोड २५ लाख रुपैयाँको दिइएको छ भने अल्पकालीन कर्जा सुविधामा १ अर्ब ७२ करोड ११ लाख रुपैयाँबाट घटाएर १ अर्ब १७ करोड रुपैयाँका लागि रेटिङ दिएको छ । दीर्घकालीन र अल्पकाल‍ीन कर्जा सुविधामा इन्फोमेरिक्सले कम्पनीलाई क्रमशः डबल बि प्लस र ए फोर प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु