सेल्सबेरी चलाउने सेलवेजको व्यापार बढ्यो, २ अर्ब ८१ करोडको कारोबार



काठमाडौं । सेल्स बेरी डिपार्टमेन्टल स्टोर तथा सेल्स बेरी एक्सप्रेस चलाउन सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा सन् २०२३ मा २५.४० प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ यता कम्पनीको व्यापार निरन्तर वृद्धि हुँदै आएको छ ।

सन् २०१९ मा १ अर्ब ४८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा १ अर्ब ७३ करोडको व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीको व्यापार २ अर्ब पुगेको थियो ।

त्यस्तै, सने २०२२ मा कम्पनीले २ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गत वर्ष अर्थात सन् २०२३ मा भने कम्पनीले अघिल्लो वर्षकोभन्दा ५७ करोड १० लाख धेरै व्यापार गरेको छ । सन् २०२३ मा कम्पनीको व्यापार २ अर्ब ८१ करोड ९० लाख भएको छ ।

सन् २०१४ मा सुरु भएको सेलवेज क्यास एन्ड क्यारि प्रालिले काठमाडौं, ललितपुर र पोखरामा सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्सप्रेसका नाममा ३१ वटा डिपार्टमेन्ट स्टोरहरु सञ्चालन गर्दै आएको छ ।

कम्पनीको स्वामित्व भने सुशिलमान प्राधानाङ्ग र सृजना श्रेष्ठसँग रहेको छ, जसमा उनीहरुसँग क्रमशः ५१ र ४९ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको सीईओ भने प्राधानाङ्ग नै रहेका छन् ।

हाल कम्पनीको कर्जा सुविधाको क्षमतामा पनि वृद्धि भएको छ । रेटिङ एजेन्सीले ईक्रा नेपालकाअनुसार यसअघि १ अर्ब ७० करोड ५४ लाख रुपैयाँको कर्जा सुविधा रहेको कम्पनीलाई हाल २ अर्ब ४५ करोड २४ लाख रुपैयाँको कर्जा सुविधा दिइएको छ।

जसमध्ये दीर्घकालीन कर्जा सुविधामा १ अर्ब ४४ करोड २४ लाख रुपैयाँका लागि एलबिप्लस रेटिङ दिइएको छ भने १ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिइएको छ ।


क्लिकमान्डु