एकल महिला भन्छन्: रोजगारीका अवसर खै ?



टीकापुर । कैलाली टीकापुरकी साहुनी बुढाका श्रीमान्‌को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ ।

टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेकी छिन् । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ ।

‘मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ । अरु कमाउने कोही छैन,’ साहुनीले भनिन्, ‘बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।’

कौशिला कामीका पनि श्रीमान्‌ बितेपछि उनलाई समस्या छ । सत्तरी वर्षकी कौशिलाको स्वास्थ्य पनि राम्रो छैन । ‘केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु,’ उनले भनिन्, ‘रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।’

एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ ।

बाटु कामी पनि शारीरिक रूपमा अशक्त हुँदै गएकी छिन् । उनलाई सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उनी सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्ने ठान्छिन् ।

‘सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन,’ उनी भन्छिन्, ‘म मात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्‌को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।’

५६ वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउँछिन् । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउँछिन् ।

‘हामी केही काम पाएको भए गर्न सक्थ्यौँ, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो,’ ओड भन्छिन्, ‘हामी जवान छौँ । हामीलाई प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सिपमुलक तालिम, अनुदान जस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।’

देवी परियारका पनि साना बालबच्चा छन् । उनी खाउँलाउँ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्छिन् । ‘जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौँ । हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो,’ देवीले भनिन्, ‘हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौँ, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।’

ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिते । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बसेकी छिन् । उनलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ ।

‘श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ,’ उनले भनिन्, ‘बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ?’

टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ६ सय २६ रहेका छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् ।

महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरण जस्ता कार्य गर्दै आएको बताइन् ।

‘एकल महिलाका समस्या धेरै छन् । त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौँ,’ उनले भनिन्, ‘पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरण जस्ता कार्य समेत गर्दै आएका छन् ।’


क्लिकमान्डु