कुखुरा पाल्ने र अन्डाको उत्पादन गर्ने दाउन्ने एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब १४ करोड व्यापार



काठमाडौं । किसान दाना उद्योग प्रालिको प्रमुख लगानी रहेको दाउन्ने एग्रो फार्म प्राइभेट लिमिटेडको व्यापारमा उच्च वृद्धि देखिएको छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार शतप्रतिशत भन्दा धेरैको वृद्धि भएको छ । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा १२९.६ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०२२ मा ५० करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा अघिल्लो वर्षको भन्दा ६४ करोड ८० लाख रुपैयाँले धेरै अर्थात् १ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २०२० देखि कम्पनीको व्यापारमा निरन्तर उच्च वृद्धि भइरहेको छ । सन् २०२० मा कम्पनीको व्यापार ८ करोड १० लाख रुपैयाँ थियो । सन् २०२१ मा ५४ करोड ६० लाखको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ५० करोड र सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख रुपैयाँ गरेको छ ।

सन् २०२४ को पहिलो ६ महिनामा कम्पनीले ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । व्यापारमा उच्च वृद्धि भए पनि कम्पनीको नाफा भने कमजोर अवस्था रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

सन् २०१८ मा खुलेको दाउन्ने एग्रो प्रालि मुख्य गरि पोल्ट्री फार्मिङमा संलग्न रहेको छ । कम्पनीले लेयर जातका कुखुरा पाल्ने तथा अन्डाको उत्पादन गर्ने गर्छ ।

यो कम्पनीमा विभिन्न ४० संस्था तथा व्यक्तिहरुको लगानी रहेको छ, जसमध्ये सबैभन्दा धेरै २९.४ प्रतिशत लगानी किसान दाना उद्योगको रहेको छ । नवलपुरको बिनाई त्रिवेणी वडा नम्बर ३ मा रहेको कम्पनीको अध्यक्ष रघुनाथ भट्ट रहेका छन् ।

हाल भने कम्पनीले विगतमा भएको कर्जा सुविधामा थप गर्दै १ अर्ब १५ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले यसअघि ९८ करोड २६ लाख रुपैयाँ कर्जा सुविधाका लागि रेटिङ गराएको थियो ।

इक्रा नेपालले कम्पनीलाई १ अर्ब ७ करोड ५४ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि एल बि प्लस रेटिङ दिएको छ भने ८ करोड ३ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु