ठमेलस्थित छाया कम्प्लेक्सको व्यापारमा कमी, कतिको गर्‍यो कारोबार ?



काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स लिमिटेड रहेका पसलहरुको बिक्री सकिँदै जाँदा कम्पनीको व्यापारमा कमी आएको छ ।

सन् २०२३ मा कम्पनीले ८३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २००८ मा स्थापना भएर सन् २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको छायादेवी कम्प्लेक्स सन् २०१८ बाट व्यवसायिक प्रयोजनका लागि सञ्चालनमा आएको थियो ।

कम्प्लेक्स सञ्चालनमा आएसँगै सन् २०२१ मा पसलहरुका लागि कम्प्लेक्समा रहेका कोठाहरु बिक्रीमार्फत १ अर्ब ७० करोडको व्यापार भएको थियो । उक्त वर्षमा कुल १ अर्ब ८७ करोड ४० लाख रुपैयाँको व्यापार भएको थियो । सन् २०२२ मा २५ करोड ५० लाख रुपैयाँ पसल बिक्रीसँगै कुल ८४ करोड ६० लाखको व्यापार कम्पनीले गरेको थियो ।

सन् २०२४ को पहिलो ६ महिनामा भने कम्पनीले ४१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

छायादेवी कम्प्लेक्समा ५१ प्रतिशत क्षेत्र होटलका लागि र बाँकी व्यवसायिक कम्प्लेक्सका लागि छुट्याइएको छ । यहाँको होटल भने सन् २०१७ जुलाईबाट सञ्चालनमा आएको थियो ।

छायादेवी कम्प्लेक्समा विश्व विख्यात मेरियट इन्टरनेसनलको स्वामित्वमा रहेको स्टारवुड एसिया प्यासिफिक होटल एण्ड रिसोर्ट प्रालिसँगको सहकार्यमा अलफ्ट नामकको होटल सञ्चालन भइरहेको छ । कम्पनीको प्रमुख आम्दानी पनि यहि होटलको सञ्चालनबाट आउने गरेको छ ।

छायादेवी कम्प्लेक्सको बोर्ड सदस्यमा ६ जना रहेका छन्, जसको नेतृत्व पृथ्वीबहादुर पाँडेले गरेका छन् । उनी चार दशकभन्दा धेरै समय बैंकिङ क्षेत्रमा संलग्न छन् ।

हाल कम्पनीले १ अर्ब ८५ करोडको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि माईनस र ४ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।


क्लिकमान्डु